गाेरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन प्राकृतिक र स्वभाविक रहेको बताएका छन्। शनिबार गाेरखामा सत्ता गठबन्धन दलका कार्यकर्ताको प्रशिक्षणमा प्रचण्डले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गर्ने दलहरूबीच गठबन्धन हुनु स्वभाविक रहेको बताएका हुन।
कार्यक्रममा उनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गर्दा नै आफूले रुखमा भोट हालिसकेको बताउँदै गिरिजाप्रसाद कोइरालासँग गरेको शान्ति सम्झौताको स्मरण गरेका थिए।
उनले भने, ‘एकाथरी माओवादी साथीहरूको कुरा सुन्छु, कसरी रुखमा भोट हाल्ने, अर्कोतिर कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुन्छु, यदि तपाईंहरूलाई रुखमा भोट हाल्न मन लाग्दैन, हात उठ्न गाह्रो मानेको छ, या हँसिया हतौडामा भोट हाल्न हात कामेका छन् भने विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन, संविधानसभाको महत्त्व बुझ्नु भएको छैन भन्ने प्रमाणित हुन्छ।’
‘मैले रुखमा भोट त्यतिबेलै हालिदिएको हो, गिरिजाबाबु सँगै हस्ताक्षर सम्झौता गर्नु भनेको प्रचण्डले रुखमा भोट हाल्नु हो, गिरिजा बाबुले प्रचण्डसँग सम्झौता गर्नु भनेको हँसिया हतौडामा भोट हाल्नु हो,’ उनले भने ।
इतिहासको एक कालखण्डमा आमने-सामने गरेको पार्टीमा राजनीतिक र भावनात्मक सम्बन्ध सृदृढ गर्नु अस्वभाविक नरहेको पनि उनको भनाइ थियो।