ढाका- बंगलादेशमा ग्रिडमा खराबी आएपछि मंगलबार अपराह्नदेखि कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको छन्।
विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन्।
समितिका प्रवक्ता शमीम अहसानले एएफपीसँग भने, ‘बंगलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन्।’
उनका अनुसार १३ करोड वा त्यसभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। उनले भने, ‘अहिले पनि अनुसन्धान भइरहेको छ।’ प्राविधिक खराबीका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए।
सहायक प्रविधि मन्त्री जुनैद पलकले फेसबुकमा लेखेका छन्, ‘राजधानी ढाकामा राति ८ बजेभित्र विद्युत सेवा सञ्चालनमा आउने छ।’
रुसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बंगलादेशले हालैका महिनामा ठूलो विद्युत् संकटको सामना गरिरहेको छ। बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्यासको मूल्य चुकाउन संघर्ष गरिरहेको बंगलादेशमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश बढेको छ। यसअघि नोभेम्बर २०१४ मा बंगलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो।