काठमाडौं- काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट शुरु भएको शनिबार बिहानको जाम थानकोटसम्म आइपुगेको थियो। सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो।
काठमाडौंको कलंकी होस् या गौशाला वा अन्य विभिन्न नाका, त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मे परिरहेको सडकमा देख्न सकिन्छ।
हिन्दूको महान पर्व दशैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेहरू संख्या बढ्दो छ। अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ।
पोका पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ। टिकट काटेकाहरू सवारीसाधन कुरिरहेका देखिन्छन् भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतीक्षा गरिरहेका छन्। सिट नपाएकाहरू ट्रक र अन्य सवारी साधनमा समेत गइरहेका छन्। पश्चिम नेपाल जान कलंकी पुगेकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेकी थिइन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैं शुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ। त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए। बिहीबार ७१ हजार ७०० यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार रह्यो। शनिबार भने त्यसको तुलनामा दोब्बर अर्थात् दुई लाखभन्दा बढीले उपत्यका छाड्ने अनुमान गरिएको ट्राफिकका एसपी अवदेश विष्टले बताए।
शनिबार साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाड्ने उनको अनुमान छ। प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएकाले उपत्यका छाड्ने संख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ।
१० देखि १४ असोजसम्ममा कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन्। प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरू यसरी बाहिरिएका हुन्।
कुन दिन कति यात्रु भित्रिए, कति बाहिरिए ?
ट्राफिक प्रहरीका अनुसार १० असोजमा आठ हजार ७२९ वटा सवारी साधनमा ४५ हजार ८२३ यात्रु भित्रिएका थिए भने आठ हजार ९०४ सवारी साधनमा ६० हजार ८४१ यात्रु बाहिरिएका थिए।
११ असोजमा आठ हजार ४२७ सवारी साधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकामा नौ हजार १६१ सवारी साधनबाट ६२ हजार ४३२ यात्रु बाहिरिएको अभिलेख छ।
यस्तै, १२ असोजमा आठ हजार नौ सवारी साधनबाट ४५ हजार २६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए। १३ असोजमा आठ हजार २३ सवारी साधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २१९ सवारी साधनबाट ७४ हजार ३६२ जना बाहिरिए।
१४ असोजमा सात हजार ४६० सवारीमार्फत ३७ हजार ३४० यात्रु भित्रिँदा १० हजार २६७ सवारी साधनबाट ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ। यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो। यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको संख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ।