काठमाडौं- पालिका चुनावअघि आँशु बगाउँदै एमाले परित्याग गरेका झापा मेचीनगरका पुराना नेता डिल्लीराम घिमिरे पुनः एमालेमै फर्किएका छन्।
उनले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पुनः एमालेमै फर्केको बताएका हुन्। पालिका चुनावमा एमालेबाट मेयर उम्मेदवारका आकांक्षी घिमिरेले टिकट नपाएपछि २९ चैत ०७८ मा एमाले परित्याग गरेका थिए। र, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उनले झिनो मत मात्र पाएका थिए।
४० बर्ष बिताएको पार्टी परित्याग गरी स्वतन्त्र बस्ने त्यतिबेला आफ्नो निर्णय जीवनकै दुःखद क्षण रहेको उनले विज्ञप्तिमा खुलाएका छन्। ‘पार्टीबाट अलग हुने निर्णयदेखि आजसम्म आइपुग्दा मलाई हजारौ शुभेच्छुकले पार्टीमा पुनः काम गर्नु पर्यो, हाम्रो नेतृत्व गर्नु पर्यो भन्नेदेखि पार्टी कमिटी र स्वयं जिल्ला कमिटीले समेत लिखित रूपमै पार्टीमा फर्कन गरेको आव्हान मेरो लागि महत्त्वपूर्ण छ,’ घिमिरेले भनेका छन्, ‘पार्टीका जिम्मेवार नेताहरूसँगको छलफल, बैठक र परामर्शपछि जिम्मेवारी बाँडफाँटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने भद्र सहमति कायम हुन सकेको छ। यो विषय ६० वर्षमाथि उमेरको मेरा लागि होइन, भोलि नेतृत्वमा आउन चाहने आम कार्यकर्ताको लागि पनि खुशीको रूपमा लिनुपर्छ।’
यस्तो छ घिमिरेको विज्ञप्ति
सम्पुर्ण आदरणीय र प्यारा मेचीनगर बासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, सामाजिक सेवामा समावेश भई जिवनको ४० औं भन्दा बढी वसन्त विताएको मेरो प्यारो पार्टी नेकपा एमालेका सम्पुर्ण कार्यकर्ता तथा आदरणीय नेता कमरेडहरू, मैले विगत २०७८ चैत्र २९ गते म आवद्ध पार्टी नेकपा एमालेको सम्पुर्ण जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र वामपन्थी भएर बस्ने घोषणा गरेको विदितै छ।
२१ फेब्रुअरी सन १८४८ मा शुरुवाती हरफ “अहिलेसम्म समाजको इतिहास, वर्ग संघर्षको इतिहास भएको छ” भन्ने निष्कर्ष सहित सार्वजनिक भएको कम्युनिस्ट घोषणा पत्र र २००६ बैशाख १० तदनुरुप २२ अप्रिल १९४९ का दिन कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको नेपाल कम्प्युनिष्ट पार्टीको घोषणा पत्र, विधान र कम्युनिस्ट आचरण पढ्दै र लागु गर्ने प्रयास गर्दै राजनीतिमा होमिएको म जस्तो निष्ठाबान कार्यकर्ता किन पार्टी छोड्न वाध्य हुन्छन वा वाध्य पारिन्छन भन्ने विषय चासोको विषय बनेको थियो।
“नेपाली समाजमा विद्यमान शोषण, उत्पीडन, गरिबी, अभाव, पछौटेपन र विभेद अन्त्य गर्ने, नेपाल राष्ट्रलाई सुरक्षित, सुदृढ, विकसित, आधुनिक, शान्तिपूर्ण, समृद्ध र सुविधासम्पन्न बनाउने, सुशासन र न्यायपूर्ण सामाजिक प्रबन्ध स्थापित गर्ने, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने र नेपाली जनता तथा समस्त मानव जातिको बृहतर हित र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो। यस पार्टीका सबै सदस्यहरू समान छन्। पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहीत रहनेछ। यसको प्रयोग विधानअनुसार हुनेछ। यो जनआधारित कार्यकर्ता पार्टी हो। पार्टी निर्माण र संचालनमा लोकतान्त्रिक पद्धती अवलम्बन गरिनेछ। यस पार्टीले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अवलम्बन गर्नेछ र स्वतन्त्रता र अनुशासनबीच सन्तुलन कायम गर्नेछ।”
नेपाल कम्युनिस्ट पार्टीको विधानको प्रस्तावनामा उल्लेखित माथिका कुराहरू नै हुन कम्युनिस्ट प्रति आकर्षण बढाउने त्यही आकर्षणमा मेरो उर्जावान समय वित्यो। मेरो बुद्धि र विवेकले भ्याए सम्म उत्पीडित, वर्गीय, दुःखी र अन्यायमा परेका जनताको पक्षमा मुक्तिका लागि काम गर्दै आएँ। तर जब पार्टीगत जिम्मेवारीको कुरा आयो, पदीय जिम्मेवारी वाँडफाँडको कुरा आयो त्यतीखेर म जिम्मेवारी विहिन बनाइएँ। काम गरेपछि जिम्मेवारी खोज्नु, अवसर खोज्नु स्वाभाविक हुन जान्छ तर जिम्मेवारी दिने सन्दर्भमा पार्टी प्रस्तावना लत्याउने काम भयो, विधानमा व्यवस्था भए अनुरुप लोकतान्त्रिक पद्धती धेरै ठाउँमा अबलम्बन गराइएन। नजिकका, आफन्त, यसम्यान र आफ्ना गुटकालाई पटक पटक अवसर दिइयो भने फरक विचार राखेकै आधारमा कसैलाई पार्टी जिम्मेवारीबाट समेत बन्चित गर्ने कार्य गरियो । पार्टीभित्र हुने यस्ता गतिविधिको मैले खुलेरै विरोध गर्ने गरेको थिएँ र म आम सुभेच्छुक कार्यकर्तालाई साक्षी राखेर फेरि भन्छु जहाँ बसे पनि त्यस्ता पार्टी पद्धती विपरितका कार्यको विरोध गरिरहन्छु।
म राजनीतिक मान्छे, ४० बर्ष विताएको पार्टी परित्याग गरी स्वतन्त्र बस्ने निर्णय मेरो जीवनको दुःखद क्षण थियो। राजनीतिक रुपमा, सैद्धान्तिक रुपमा र सामाजिक तथा व्यवहारिक रुपमा समेत म अन्य कुनै पार्टीमा आवद्ध हुन सक्ने कल्पना गरेर मैले पार्टीबाट स्वतन्त्र बस्ने निर्णय गरेको थिइन। अन्य बुर्जुवा पार्टिबाट देश विकासको खाका कोर्ने र नेतृत्व गर्ने भन्ने कल्पना नेपाली समाजले गरेको छैन जुन अहिले सम्म देखिएको कुरा हो। पार्टीबाट अलग हुने निर्णय देखि आज सम्म आइपुग्दा मलाई हजारौ शुभेच्छुकहरूले पार्टीमा पुन काम गर्नु पर्यो, हाम्रो नेतृत्व गर्नु पर्यो भन्ने देखि पार्टी कमिटि र स्वयं जिल्ला कमिटीले समेत लिखित रुपमै पार्टीमा फर्कन गरेको आव्हान मेरो लागि महत्वपुर्ण छ। पार्टीका जिम्मेवार नेता कमरेडहरूसँगको छलफल, बैठक र परामर्श पछि जिम्मेवारी वाँडफाँडमा कसैलाई काख कसैलाई पाखा नगर्ने भद्र सहमती कायम हुन सकेको छ, यो विषय ६० बर्ष माथि उमेरको मेरा लागि होइन भोली नेतृत्वमा आउन चाहने आम कार्यकर्ताको लागि पनि खुसीको रुपमा लिनु पर्दछ।
हो, कोही पनि एक व्यक्ति राजनीतिक, विचार, चेतना, निर्णय क्षमता सबैमा पुर्णता नहुन सक्छ, गल्ती गर्न सक्छ, आवेगको निर्णय हुन सक्छ। मैले जीवनको उर्जावान समय विताएको पार्टी चुनावमा होमिएको बेला स्वतन्त्र बस्ने निर्णय त्यहि आवेगमा थियो भन्ने निष्कर्षमा पुगेको छु जसले गर्दा पार्टी, आम कार्यकतालाई परेको चोट प्रति क्षमा याचना गर्दै आत्माआलोचना गर्दछु र पार्टीको आव्हान बमोजिम पुन संबृद्ध नेपाल सुखि नेपालिको नारा बोकि जनताको सेवामा समर्पित मेरो प्यारो र जनताको पार्टी नेकपा एमालेमा बसेर कामगर्ने निर्णय गरेको छु साथै विगतमा नेकपा एमाले परित्याग गरि स्वतन्त्र रहेका सम्पूर्ण मित्रहरू समेतलाई पुन पाटिमा गोलबन्द हुन आव्हान गर्दै कम्युनिस्ट आन्दोलनमा उर्जा थप्न, जनताको सेवामा समर्पित हुन र पार्टी कामलाई जीवन्त बनाइरहन सबैको साथ सहयोग निरन्तर रहने अपेक्षा गर्दछु।