ओहायो- अमेरिकाको ओहायो राज्यमा स्थानीय नेपालीभाषीले फुटबल महोत्सव आयोजना गरेका छन्।
सिनसिनाटी शहरमा शुक्रबारदेखि शुरु भएको महोत्सव तीन दिन चल्नेछ। ‘इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसनले’ महोत्सव आयोजना गरेको हो। प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपालीभाषी हुनुपर्ने प्रावधान छ।
महोत्सवमा अमेरिकाका विभिन्न राज्यका ३८ वटा फुटबल टिमको सहभागिता छ। युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुनेछ।
खेलको विजेताले १५ हजार अमेरिकी डलर (१९ लाख ४० हजार रुपैयाँ) पुरस्कार पाउने छन्। पहिलो खेलमा युनिक ब्वाइज फुटबल क्लब र पथरी ई वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।
कोलम्बस स्टार फुटबल क्लब र रिभोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिस्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, सांग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ।
यस्तै, रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडागी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बीवाईएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेन्ज, भरमन्ट–११ भर्सेस पिस जोन स्पोर्टिङ अफ बीसीएएबीच प्रतिस्पर्धा हुँदैछ।
उदघाटनका दिन भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनेसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस हिलसिटी भेट्रान्सबीच प्रतिस्पर्धा भएको छ।
युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताए। भेट्रान्सतर्फ आठ टिम र महिलातर्फ चार टिम सहभागी छन्। महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयअनुसार शनिबार शुरु हुनेछ।