काठमाडाैं : पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ । वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
स्वास्थ्य सेवा सुधारको सात बुँदे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्वीकार गरेका छन् ।
हाल शुद्ध पानी, नर्मल स्लाइन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकीय टोलीबाट नियमित स्वास्थ परीक्षण गराइ शरीरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुगमन भइरहेको अस्पतालले जनाएको छ।