चितवन : जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गु देखिएको थियो । यस वर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत सङ्क्रमण फैलिएको छ । निरन्तरको वर्षापश्चात् एक सातामा डेङ्गुका बिरामीको सङ्ख्या निकै बढेको उनले जानकारी दिए।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । उनले भने, ‘अहिले साउनदेखि नै डेङ्गुको सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने उनले जानकारी दिए । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उहाँले बताउनुभयो । यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासितरुपमा बढ्दै गएको कार्यालयले जनाएको छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।
उनका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्ने हुन्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्ने उनले बताए। डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए ।
डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए। पानी जमिरहेको भए एक हप्तामा एक पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्कने र खाने पानीको ट्याङ्कीलाई पनि लामखुट्टे छिर्न गर्न नमिल्ने गरी ढाकेर राख्नु पर्दछ ।
सन् २००४ मा डेङ्गु ज्वरो नेपालमा पहिलो पटक चितवनमा देखिएको थियो । चितवन घुम्न आएको एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ ।
यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए। योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा एक हजार दुई सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७५/७६ मा एक हजार नौ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेङ्गु भेटिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १९ हजार दुई सय ३० जनाको परीक्षणका क्रममा चार हजार आठ सय तीन जनामा देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए।
जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा सङ्क्रमण बढ्दो क्रममा रहेको छ । यसलाई नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सातै पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफललाई तीव्र बनाएको छ । जलवायु परिवर्तनसँगै लामखुट्टेको बानी बेहोरा र बासस्थानमा परिवर्तन आएका कारण यसको नियन्त्रणका लागि सातै पालिकामा लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पारिएको कार्यालयका प्रमुख चापागाईंले बताए।
यसलाई अभियानका रुपमा अघि बढाइने उनले बताए। पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लामखुट्टेको बासस्थान हुने ठाउँ सफा गर्न टोलटोलमा सचेतना बढाइएको उनले जानकारी दिए। अव्यवस्थित निर्माणका कार्य र बढि जनघनत्व भएको स्थानमा लामखुट्टेको बासस्थान बढी देखिएकाले मुख्य गरी सहरी क्षेत्र लक्षित गर्दै कार्यक्रम तयार गरिएको उनले बताए।