काठमाडौं- जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारमा किटानी जाहेरी परेको बताएको छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी परेको प्रहरीको भनाइ छ।
जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडितको स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ। पीडितको जाहेरीमा ५ भदौमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ।
‘काठमाडौंमा ल्याई राति अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ल्याई ६ गते बिहान १२ः२५ मा पटक–पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या उडेका थिए। केन्यामा टी–२० क्रिकेट शृंखला खेलेपछि सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न उतैबाट जमैका गएका थिए। अहिले जमेकामै छन्।