काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मा संघीय परिषद अध्यक्ष छँदा बाबुराम भट्टराईले उठाइरहने विभिन्न आवाजमध्ये एउटा थियो– समावेशी र सामूहिक नेतृत्व। तर, त्यसका लागि अध्यक्ष उपेन्द्र यादव कहिल्यै तयार भएनन्। यादव पार्टीभित्र एकल अध्यक्षीय प्रणालीका पक्षमा उभिइरहे।
भट्टराईको ‘समावेशी र सामूहिक’ र उपेन्द्रको एकल नेतृत्वको अडानले जसपाभित्र कलह झांगियो। नेतृत्वकै विषयमा दुवै नेताको ‘टकराव’का कारण जसपा अन्ततः समानान्तर केन्द्रीय समिति बैठकको गन्तव्यसम्म पुग्यो।
वीरगञ्जमा बसेको उपेन्द्र पक्षको बैठकले भट्टराईसहित नौ नेतालाई जिम्मेवारीमुक्त गर्ने निर्णय गर्यो। र, उपेन्द्र पक्षको त्यही निर्णय भट्टराईलगायत नेताहरूका लागि जसपाबाट बाहिरिने प्रस्थान विन्दु बन्यो।
भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच २३ वैशाख ०७६ मा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो। एकीकरण भएको तीन वर्ष तीन महिनापछि उपेन्द्रसँगको सहयात्रालाई विराम दिएर भट्टराई नयाँ पार्टी गठनको यात्रामा अगाडि बढेका छन्।
भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएका हुन्। नयाँ दल दर्ताको प्रक्रियामा अगाडि बढिसकेका भट्टराई जसपामा राख्ने गरेको ‘सामूहिक र समावेशी’ नेतृत्वको अडानमा कायम रहलान् वा एकल नेतृत्वकै बाटोमा अगाडि बढ्छन्, चासोका साथ हेरिएको छ।
निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाइरहँदा नेपाल समाजवादी पार्टीभित्र पदीय जिम्मेवारी पनि अनौपचारिक छलफल शुरु भएको छ। ‘हामी दल दर्ताको प्रक्रियामा अगाडि बढिसकेका छौं, केही साथीहरूलाई निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ,’ पार्टीका नेता प्रशान्त सिंहले भने, ‘नेताहरूको पदीय जिम्मेवारीबारे निर्णय भने भइसकेको छैन।’
दर्ता हुन लागेको नयाँ पार्टीमा भने भट्टराई कार्यकारी पदमा बस्न चाहेका छैनन्। स्रोतका अनुसार उनी पार्टीभित्र अभिभावकीय अथवा संरक्षकको भूमिकामा बस्न चाहेका छन्। ‘बाबुरामजी पार्टीको कार्यकारी पदमा बस्न चाहनु भएको छैन,’ भट्टराईनिकट स्रोतले भन्यो, ‘अभिभावकीय वा संरक्षकको हिसाबले पार्टीभित्र बस्ने उहाँको चाहना छ। पदीय जिम्मेवारीबारे भने निर्णय भइसकेको छैन।’
भट्टराई आफू अभिभावकीय जिम्मेवारीमा बस्न चाहे पनि कार्यकारी पदमा आउन उनीमाथि चर्को दबाब पनि छ। सामूहिक नेतृत्व अंगाल्ने लगभग निश्चित भएकोले भट्टराईलाई कार्यकारी जिम्मेवारीमा आउन दबाब आइरहेको स्रोतको भनाइ छ।
पार्टी अध्यक्षका लागि महिन्द्रराय यादव एकजना लगभग निश्चित छन्। यस्तै, गंगानारायण श्रेष्ठले पनि अध्यक्षकै लागि चाहना व्यक्त गरेका छन्। तर, त्यसो गर्दा सिनियर–जुनियरको विषयले अप्ठ्यारो पर्नसक्ने आकलनसमेत गरिएको छ।
‘बाबुरामजी अध्यक्षीय जिम्मेवारीमा आउन चाहनु भएको छैन, महिन्द्रजीको इन्ट्रेस्ट देखिएको छ,’ स्रोतले भन्यो, ‘तर, बाबुरामजी नभएर अरू कोही अध्यक्ष बन्दा सिनियर–जुनियरको विषय उठ्नसक्छ। त्यसैले कार्यकारी जिम्मेवारीमा बस्न उहाँमाथि दबाब छ।’
भट्टराई भने जसपाको जस्तो संघीय परिषद अध्यक्षमा समेत बस्न नचाहेको स्रोतको दाबी छ। ‘जसपामा छँदा संघीय परिषदको हैसियतमा उहाँसँग केही अधिकार निहीत थियो। अहिले त्यसभन्दा पनि एक स्टेप तल आउन चाहनुभएको छ,’ स्रोतले भन्यो।
पार्टी दर्ता भएर पहिलो महाधिवेशन नहुँदासम्म तीनजना अध्यक्ष रहने पहिलेको मान्यता अझै कायम रहेको भट्टराईनिकट ती नेताले बताए। बुधबार बैठक बसेर पदीय जिम्मेवारी तोक्ने तयारी रहेको उनको भनाइ छ। ‘समय तय भइसकेको छैन। तर, बुधबार नै बैठक बसेर पदीय जिम्मेवारीबारे निर्णय हुने सम्भावना छ,’ उनले भने।
अध्यक्षमा खस आर्य, मधेशी र जनजाति गरी क्लस्टर मिलाइएको छ। महिन्द्ररायलाई कार्यकारी अध्यक्ष दिए पनि विशेष अधिकार भट्टराईलाई दिने गरी पनि छलफल चलेको छ। पार्टीको दैनिक आइपर्ने काम कार्यकारी अध्यक्षले गर्ने र संघीय परिषदको अध्यक्षले नीतिगत निर्णयहरू गर्ने गरी छलफल चलिरहेको स्रोतले बतायो।
भट्टराई जसपामा पनि दुई अध्यक्ष हुनुपर्ने पक्षमा थिए। महन्थ ठाकुर पक्षले पार्टी छाडेर गइसकेपछि एउटा अध्यक्ष पद खाली थियो। त्यो पदमा एकजना अध्यक्ष राख्न भट्टराई पक्षले निरन्तर दबाब दिइरहेको थियो। तर, त्यसका लागि उपेन्द्र पक्ष तयार नभएपछि विवाद बढेर अन्ततः जसपा विभाजन भएको हो।