काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिको अर्को बैठक बेलुकी ४ बजे बस्ने जनाइएको छ ।
‘केही विषय प्राविधिक भएकले फोरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौँ ।’
नेपाल प्रहरीको फोरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए । सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान समितिको बैठक राखिएको थियो ।
‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौँ र हेर्यौं, त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकाले विश्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।
आज बेलुकी ४ बजे बस्ने बैठकमा नेपाल प्रहरीको फोरेन्सिक ल्याबका विज्ञहरूलाई बोलाइएको र बैठकमा उनीहरूले प्राविधिक कुराहरू स्पष्ट पार्ने अर्यालले जनाए । केही दिनअघि समितिले अर्थ मन्त्रालयसको सीसीटीभी फुटेज रिकभर गर्न हार्डडिस्क प्रहरीको फोरेन्सिक ल्याबमा पठाएको थियो ।
‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउँनु हुन्छ, त्यसपछि हामी निष्कर्षमा पुग्छौँ,’ अर्याले भने ।
पूर्व अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधिसभाले उनीमाथि छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।