दार्चुला । जिल्लाको मार्मा गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९-८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।
गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति उपलब्ध गराइने छ ।
यस्तै, दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक–एक विद्यार्थीलाई एमबीबीएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमबीबीएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए ।
यसैगरी गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो ।