भरतपुर । चितवनमा पहिलोपटक छालाको जाँचसहितको सौन्दर्य सामग्री बिक्री केन्द्र (स्किन एक्स्पिरियन्स सेन्टर) सञ्चालनमा आएको छ। भीएमभी एस्थेटिक्स् ग्रुपले नारायणगढमा सञ्चालनमा ल्याएको केन्द्रको नायिका स्वस्तिमा खड्काले बुधबार उद्घाटन गरेकी हुन् ।
काठमाडौँपछि पहिलो शाखाका रुपमा विज्ञ चिकित्सक र नर्सबाट छालाको जाँच गरेर सौन्दर्य सामाग्री प्रदान गर्ने यो पहिलो सेवा केन्द्र हो । तीन वर्षअघि स्थापना भएको कम्पनीको काठमाडौँको महाराजगञ्जमा पनि केन्द्र सञ्चालनमा छ ।
केन्द्रमा आउने सेवाग्राहीले प्रयोग गरेर चित्त बुझेपछि मात्रै सामान खरिद गर्न सकिने व्यवस्था छ । केन्द्रमै छालाको परीक्षणसँगै ती सामग्री प्रयोग गरेर अनुभव लिन सकिन्छ ।
भारतको र्याली कोष, फिलिपिन्सको भीएमभी हाइपोएलोजेनिक्स् र स्पेनको मेसो एस्टोटिक कम्पनीका सौन्दर्यका सामग्री प्रयोग गरिएको छ । बजारको आवश्यकता हेरेरै चितवनको बजारमा केन्द्र सञ्चालन गरेको केन्द्रकी बजार प्रमुख इशा जोशीको भनाइ छ ।
आवश्यकता र मागअनुसार विस्तारै अन्य सहरमा शाखा विस्तार गर्दै लैजाने योजना रहेको उनले बताइन् ।