चितवन- वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ-मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
आज बिहान मात्र नारायणगढ-मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले मुग्लिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताए। उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ ।
ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको उनले बताए।
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिन सडक र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ ।