काठमाडौं- आज १३ मे। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९४०- इगोर सिकोर्स्कीको पहिलो हेलिकोप्टरको सफल उडान
हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्कीले निर्माण गरेको पहिलो हेलिकोप्टरले आजकै दिन सफल उडान भरेको थियो। ‘भीएस-३००’ नाम दिइएको उक्त हेलिकोप्टर सिंगल भर्टिकल टेल रोटरमा आधारित थियो। अहिलेका सबैजसो हेलिकोप्टरमा सोही प्रकारको टेल रोटर जडान गरिएको हुन्छ।
– सन् १९८९- तियानमेन स्क्वायरमा हजारौं विद्यार्थीको आमरण अनसन
सन् १९८९ मा आजकै दिन चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा हजारौं विद्यार्थीले आमरण अनसन थालेका थिए। अहिंस्रक उक्त प्रदर्शन भ्रष्टाचारको विरोध र प्रजातन्त्रको माग गर्दै भएको थियो। तर, ३-४ जुन १९८९ मा चिनियाँ जनमुक्ति सेनाले ट्यांकरले पेल्दै ३ हजारभन्दा बढी निहत्था सर्वसाधारणको हत्या गरेको थियो।
– सन् १९९६- बंगलादेशमा समुद्री तुफानमा मारिए ६००
सन् १९९६ मा आजकै दिन बंगलादेशमा आएको समुद्री तुफान र चट्याङमा परी ६०० जनाले ज्यान गुमाएका थिए। बंगलादेशका उत्तरी र मध्य भागका करिब ९० वटा गाउँ त्यसबाट प्रभावित भएका थिए। ३७ हजार २४८ जना घाइते तथा ३६ हजार ४२० वटा घर नष्ट भएका थिए। जम्मा २० मिनटको तुफान १२५ माइल प्रतिघण्टाको गतिको थियो।
– सन् २०१४- टर्कीमा मारिए ३०१ खानी मजदुर
आजकै दिन टर्कीको एक खानीमा भएको विष्फोटमा परी ३०१ जना खानी मजदुर मारिएका थिए। मेनिसास्थित खानीमा विष्फोट र आगलागीमा परी त्यति ठूलो मानवीय क्षति भएको थियो।
– सन् २०१८- चीनको पहिलो एयरक्राफ्ट क्यारियर
सन् २०१८ मा आजकै दिन चीनको पहिलो एयरक्राफ्ट क्यारियर सञ्चालनमा आएको थियो। चीनको डालियनमा उक्त क्यारियरको पहिलो अभ्यास गरिएको थियो।
– सन् २०१९- चन्द्रमा खुम्चिइरहेको दाबी
सन् २०१९ मा आजकै दिन प्रकाशित एक रिपोर्टमा चन्द्रमा खुम्चिइरहेको दाबी गरिएको थियो। चिसो भएर पनि चन्द्रमा क्रमशः खुम्चिइरहेको ‘नेचर जियोसाइन्स’मा प्रकाशित रिपोर्टमा दाबी गरिएको थियो।
– सन् २०२१- इजरायली आक्रमणमा मारिए १०३
सन् २०२१ मा आजकै दिन इजरायल र प्यालेस्टिनबीचको गाजा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी १०३ जनाको ज्यान गएको थियो। मारिनेमा २७ बालबालिका पनि थिए। जवाफमा प्यालेस्टिनतिरबाट इजरायलमा १ हजार रकेट फायर गरिएको थियो। लोद शहरको सडक भिडन्तको केन्द्र बनेको थियो। इजरायलतर्फ ९ जना मारिएका थिए।
– सन् २०२१- अलग्गियो संसारकै ठूलो आइसबर्ग
आजकै दिन प्रकाशित रिपोर्टअनुसार संसारकै ठूलो आइसबर्ग अलग्गिएको पाइएको थियो। ‘ए-७६’ नाम दिइएको उक्त आइसबर्ग ४ हजार ३२० वर्ग किलोमिटरमा फैलिएको छ। र, त्यो अन्टार्कटिका महादेशमा अवस्थित छ। त्यतिन्जेलसम्म उक्त आइसबर्ग रोने आइस सेल्फसँग जोडिएको थियो। उक्त आइस सेल्फबाट ‘ए-७६’ आइसबर्ग अलग भएको थियो।