काठमाडौं- आज २९ अप्रिल। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९६८- आत्महत्याअघि हिटलर र इभा ब्राउनको बिहे
सन् १९४५ मा आजकै दिन जर्मनीका कुख्यात तानाशाह हिटलर र उनकी प्रेमिका इभा ब्राउनले बिहे गरेका थिए। बिहेको अर्को दिन उनीहरूले आत्महत्या गरेका थिए।
– सन् १९९२- लस एन्जलसमा दंगा, ५३ मारिए
सन् १९९२ मा आजकै दिन अमेरिकाको लस एन्जलसमा दंगा भड्किएको थियो। उक्त दंगामा परी ५३ जना मारिएका थिए। रोड्नी किङ नामक अश्वेत युवकलाई कुटी-कुटी हत्या गरेका ४ जना प्रहरी अधिकारीलाई रिहा गरिएको विरोधमा शुरु भएको प्रदर्शन दंगामा परिणत भएको थियो।
– सन् १९९७- रासायनिक हतियारविरुद्धको सन्धि लागू
सन् १९९७ मा आजकै दिन रासायनिक हतियारसम्बन्धी सन्धि लागू भएको थियो। उक्त सन्धिले रासायनिक हतियारहरूको उत्पादन, भण्डारण र प्रयोगमाथि प्रतिबन्ध लगाएको छ। उक्त सन्धिलाई १९० वटा मुलुकले मान्यता दिएका छन्।
– सन् २०११- राजकुमार विलियम र क्याथरिनको विवाह
सन् २०११ मा आजकै दिन बेलायतका राजकुमार विलियम र उनकी प्रेमिका क्याथरिन मिडलटनले विवाह गरेका थिए। राजकुमार विलियम पिता चार्ल्सपछि राजगद्दीका उत्तराधिकारी मानिएका छन्। संसारभरका टेलिभिजनमा उनीहरूको भव्य विवाह समारोहलाई प्रत्यक्ष प्रसारण गरिएको थियो।
– सन् २०१९- कामको ओभरलोडका कारण गयो ३०० को ज्यान
सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न एक दिने चुनावका क्रममा कामको ओभरलोडका कारण ३०० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यस समयमा अन्य २ हजारभन्दा बढी बिरामी परेका थिए।
– सन् २०२०- बिजुली चम्किने सबैभन्दा लामो रेकर्ड
सन् २०२० मा आजकै दिन आधुनिक इतिहासको सबैभन्दा लामो बिजुली चम्किने घटना भएको थियो। अमेरिकी राज्यहरू टेक्सस, लुजियाना र मिसिसिपीबीचमा ४७७ माइल (७६८ किमि) लामो बिजुली चम्किएको रेकर्ड भएको थियो।
– सन् २०२१- विश्वकै लामो यात्री पुल
सन् २०२१ मा आजकै दिन पोर्चुगलमा विश्वकै ठूलो यात्री पुल सञ्चालनमा आएको थियो। पोर्चुगलको उत्तरी क्षेत्रस्थित अरौका जियो पार्कमा उक्त पुल निर्माण गरिएको छ। पुलको लम्बाइ ५१६ मिटर छ।
– सन् २०२२- ६ तले भवन ढल्दा मारिए २६
सन् २०२२ मा आजकै दिन चीनमा ६ तले भवन भत्किँदा भग्नावशेषमा पुरिएर २६ जनाको ज्यान गएको थियो। हुनान प्रान्तको राजधानी चाङ्सामा उक्त घटना भएको थियो। भग्नावशेषमा पुरिएकी एक महिलालाई ६ दिनपछि जीवितै उद्दार गरिएको थियो।
– सन् २०२२- विश्वकै लामो काँचको पुल
सन् २००२ मा आजकै दिन भियतनामको मोक चाउ आइल्यान्ड माउन्टेन पार्क एन्ड रिसोर्टमा विश्वकै लामो काँचको पुल सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त पुल ६३२ मिटर लामो छ।