काठमाडौं- आज १८ मार्च। विश्व इतिहासका विभिन्न परिघटनाका कारण आजको दिनलाई स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही घटनाको सारसंक्षेप।
– सन् १८९२- क्यानाडामा संसारको सर्वाधिक प्रतिष्ठित आइस हकी ट्रफी
संसारको सबैभन्दा प्रतिष्ठित मानिने आइस हकी ट्रफी आजकै दिन प्रेस्टनका लर्ड स्ट्यान्लीले दान दिएका थिए।
– सन् १९६२- अल्जेरियाको युद्ध समाप्ति सम्झौता
सन् १९६२ मा आजकै दिन अल्जेरियामा जारी युद्ध अन्त्यका लागि सम्झौता भएको थियो। त्यसलाई ‘एभियन सम्झौता’ नाम दिइएको छ। सोही सम्झौतापछि अल्जेरियाले फ्रान्सको शासनबाट मुक्ति पाएको थियो।
– सन् १९६५- अन्तरिक्षमा वाकिङ गर्ने पहिलो मानव
तत्कालीन सोभियत संघका अन्तरिक्ष यात्री एलेक्सी लियोनोभले सन् १९६५ मा आजकै दिन अन्तरिक्षमा वाकिङ गरेर रेकर्ड राखेका थिए। उनी अन्तरिक्ष यान ‘भोस्खोद-२’मार्फत अन्तरिक्षमा पुगेका थिए। त्यस दौरान एयर लकबाट निस्केर अन्तरिक्षमा वाकिङ गरेका थिए।
– सन् १९७१- पेरूमा समुद्री आँधीले लियो सयौंको ज्यान
सन् १९७१ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पेरूमा आएको ३० मिटर अग्लो चक्रवातमा परी सयौंको ज्यान गएको थियो। उक्त चक्रवातले एक खनिज पदार्थको खानी डुबाएको थियो। त्यसमा काम गरिरहेका मजदुर त्यसको चपेटामा परेका थिए।
– सन् १९९०- तत्कालीन पूर्वी जर्मनीमा एक मात्र आम निर्वाचन
तत्कालीन पूर्वी जर्मनीमा आजकै दिन इतिहासको एक मात्र संसदीय निर्वाचन भएको थियो। सन् १९८९ सम्म कम्युनिस्ट मुलुक रहेको पूर्वी जर्मनी सन् १९९० मा पश्चिम जर्मनीमा विलय भएको थियो। कम्युनिस्ट शासनको पतन र पश्चिम जर्मनीमा विलय भएर एक मात्र जर्मनी स्थापनाको बीचमा यो आम निर्वाचन भएको थियो।
– सन् २०१४- रुसमा गाभियो क्रिमिया
सन् २०१४ मा आजकै दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको क्रिमियालाई आफ्नो मुलुकको हिस्सा बनाएका थिए। त्यसअघि एक कथित जनमत संग्रहमार्फत क्रिमिया युक्रेनबाट छुट्टिएर अलग्गै मुलुक भएको घोषणा गरिएको थियो। र, रुसी राष्ट्रपति पुटिनले उक्त कथित मुलुकसँग विलयको सन्धि गरिएको बताउँदै रुसमा गाभेका थिए।
– सन् २०१९- मोजाम्बिक तुफानबाट मारिए १ हजार
सन् २०१९ मा अफ्रिकी मुलुक मोजाम्बिकमा आएको समुद्री तुफान इडाईमा परी १ हजारजनाले ज्यान गुमाएका थिए। समुद्री तुफानको कहरका कारण राष्ट्रपति फिलिपे न्युसीले देशव्यापी संकटकाल घोषणा गरेका थिए।
– सन् २०२५- इजरायली आक्रमणमा मारिए ४०४
सन् २०२५ मा आजकै दिन इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ४०४ जनाको ज्यान गएको थियो। घटनामा अन्य ५६२ जना घाइते भएका थिए। युद्धविराम सम्झौता अन्त्य भएसँगै इजरायलले आक्रमण थालेको थियो।