काठमाडौं- आज २८ फेब्रुअरी। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्वव्यापी चर्चा पाएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९२२- इजिप्ट स्वतन्त्र मुलुक घोषणा
सन् १९२२ मा आजकै दिन इजिप्टले ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
– सन् १९३५- नाइलनको आविष्कार
सन् १९३५ मा आजकै दिन नाइलनको आविष्कार भएको हो। अमेरिकाको डेलावेयरस्थित विलमिङटनमा ड्युपोन्ट एक्सपेरिमेन्टल स्टेसनमा पोलिमरको पहिलो उत्पादन भएको थियो। यसका आविष्कारक हुन्, वालेस क्यारोथर्स।
– सन् १९७५- लन्डनको भूमिगत रेल दुर्घटनामा ४३ को गयो ज्यान
सन् १९७५ मा आजकै दिन बेलायतको राजधानी लन्डनस्थित भूमिगत मार्गमा रेल दुर्घटनामा परेको थियो। घटनामा ४३ जनाले ज्यान गुमाएका थिए। यो लन्डनको भूमिगत मार्गमा भएको सबैभन्दा ठूलो दुर्घटना थियो।
– सन् १९८६- स्विडेनका प्रधानमन्त्रीको हत्या
सन् १९८६ मा आजकै दिन स्विडेनका तत्कालीन प्रधानमन्त्री ओलोफ पामेको गोली हानी हत्या भएको थियो। उनको हत्यामा १३० जनाभन्दा बढीले जिम्मेवारी लिएका थिए। सोही कारण उनको हत्या कसले र किन गरेको थियो भन्ने रहस्य कहिल्यै पत्ता लागेन। र, इतिहासमा रहस्यमय घटनाको सूचीमा सीमित रह्यो।
– सन् १९९१- पहिलो खाडी युद्ध अन्त्य
इराकविरुद्ध अमेरिकाले २ अगस्ट १९९० मा शुरु गरेको खाडी युद्ध सन् १९९१ मा आजकै दिन अन्त्य भएको थियो। यसबीचमा इराक, कुवेत, पर्सियन गल्फ, साउदी अरेबियामा युद्ध भएको थियो। त्यस युद्धमा परी १ लाखभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए।
– सन् १९९८- पहिलो मानवरहित विमानको उडान
सन् १९९८ मा आजकै दिन पहिलोपटक मानवरहित विमानले उडान भरेको थियो। ‘आरक्यू-४ ग्लोबल हक’ नाम दिइएको यो विमान आफैंले आफ्नो उडान योजना बनाउन सक्छ। र, यो अमेरिकी नागरिक उड्डयन क्षेत्रमा नियमित उडान भर्न योग्य प्रमाणित गरिएको छ।
– सन् २०२३- ग्रिस रेल दुर्घटनामा ५७ को मृत्यु
सन् २०२३ मा आजकै दिन ग्रिसमा भएको रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको थियो। लारिसा शहर नजिक मालवाहक रेल दुर्घटनामा परेको थियो। यसलाई ग्रिसको इतिहासमै गम्भीर रेल दुर्घटना मानिन्छ।
– सन् २०२३- वुहानकै प्रयोगशालाबाट कोरोना सिर्जित भएको दाबी
सन् २०२३ मा अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)का अधिकारीले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाटै लिक भएको दाबी गरेका थिए। एफबीआईका निर्देशक क्रिस्टोफर रेले आफूहरूको अनुसन्धानमा उक्त तथ्य प्राप्त भएको दाबी गरेका थिए।