काठमाडौं- आज २६ फेब्रुअरी। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्वभर चर्चा कमाएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९०९- पहिलोपटक रंगिन फिल्म प्रदर्शन
सन् १९०९ मा आजकै दिन पहिलोपटक रंगिन चलचित्र प्रदर्शन गरिएको थियो। लन्डनस्थित प्यालेस थिएटरमा २१ सर्ट किनेमा कलर फिल्महरूको शृंखला प्रदर्शन गरिएको थियो।
– सन् १९१७- पहिलो जाज रेकर्ड
सन् १९१७ मा आजकै दिन विश्वको पहिलो जाज रेकर्ड सिर्जना गरिएको थियो। ‘ओरिजिनल डिक्सिल्यान्ड जास ब्यान्ड’ले न्युयोर्कमा भिक्टर टकिङ मेसिनका लागि ‘लिभेरी स्टेबल ब्लुज’ रेकर्ड गराएको थियो।
– सन् १९९१- विश्वको पहिलो वेब ब्राउजर सार्वजनिक
सन् १९९१ मा आजकै दिन विश्वको पहिलो वेब ब्राउजर ‘वर्ल्डवाइड वेब’ सार्वजनिक गरिएको थियो। पछि त्यसलाई ‘नेक्सस’ नामकरण गरियो। उक्त ब्राउजर बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्स-लीले विकास गरेका थिए। उनी नै इन्टरनेटका आविष्कारक हुन्।
– सन् १९९३- न्युयोर्कमा कार विष्फोट हुँदा गयो ६ को ज्यान
सन् १९९३ मा आजकै दिन अमेरिकाको न्युयोर्कमा आतंकवादी संगठनले गराएको कार बम विष्फोटमा ६ जना मारिएका थिए। न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर अघिल्तिर कारमा राखिएको बम विष्फोट गराइएको थियो। ११ सेप्टेम्बर २००१ मा सोही सेन्टरमा विमान ठोक्काएर अन्तर्राष्ट्रीय आतंकवादी संगठन अलकायदाले झण्डै तीन हजार जनाको एकैपटक ज्यान लिएको थियो।
– सन् २०१८- पपुवा न्युगिनी भूकम्पमा १०० मारिए
सन् २०१८ मा आजकै दिन पपुवा न्युगिनीमा गएको भूकम्पमा परी कम्तिमा १०० जना मारिएका थिए। ७.५ रेक्टर स्केलको भूकम्पबाट मुलुकको मध्य क्षेत्र बढी प्रभावित भएको थियो।
– सन् २०१९- इसाई धर्मगुरुले गरे बाल यौन दूराचार
इसाई धर्मको क्याथोलिक सेक्टका धर्मगुरु कार्डिनल जर्ज पेलले बाल यौन दूराचार गरेको पुष्टि भएको थियो। उनले अस्ट्रेलियाको मेलबर्नमा बाल यौन दूराचार गरेको पुष्टि भएको थियो। उनी भ्याटिकनका कोषाध्यक्ष थिए। र, कुनै यस्तो जघन्य अपराधमा संलग्न हुने उनी सबैभन्दा उच्च ओहोदामा इसाई धर्मगुरु थिए। सन् २०१९ मै अमेरिकामा बाल यौन दूराचारका ४ हजार ५०० उजुरी आएका थिए। ती उजुरी स्वास्थ्य विभागमा आएका थिए। अलग्गै न्याय विभागमा १ हजार ३०० भन्दा बढी उजुरी परेका थिए।
– सन् २०२०- इतिहासमै पहिलोपटक मक्का मदिना बन्द
कोभिड-१९ महामारीका कारण इतिहासमै पहिलोपटक मुस्लिम धर्मावलम्बीहरूका पवित्र स्थल मक्का र मदिना बन्द गर्नुपरेको थियो। कोभिड महामारी मत्थर भएपछि मात्र ती स्थल खुला भएका थिए।
– सन् २०२२- बाल्कनटोलिया महाद्विपको खोजी
सन् २०२२ मा आजकै दिन वैज्ञानिकहरूले बाल्कनटोलिया नामक लोप भएको महाद्विपको खोजी गरिएको रिपोर्ट प्रकाशित गरेका थिए। उक्त महाद्विपले दक्षिणी युरोपलाई एसियासँग जोड्थ्यो। र, ३ करोड ५० लाखदेखि ३ करोड ८० लाख वर्ष अघिसम्म जनावरहरूका लागि आवतजावतको मुख्य मार्ग थियो, उक्त महाद्विप।
– सन् २०२३- मेक्सिकोमा ५ लाखको प्रदर्शन
सन् २०२३ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक मेक्सिकोको राजधानी शहरमा ५ लाखजनाले प्रदर्शन गरेका थिए। राष्ट्रीय निर्वाचन इन्स्टिच्युट खारेजीको विरोधमा त्यहाँका जनता प्रदर्शनमा उत्रिएका थिए। इन्स्टिच्युट खारेज गर्दा निर्वाचनको निष्पक्षता कमजोर हुने उनीहरूको माग थियो।
– सन् २०२५- अमेरिकामा दादुराबाट मृत्युको दुर्लभ घटना
अमेरिकामा दादुराबाट एक दशकमा पहिलोपटक मृत्युको घटना भएको थियो। त्यसबाट १२४ जना बिरामी परेका थिए।