कैलाली । पछिल्लो सर्वेक्षणको नतिजा प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा नवजात शिशुदेखि पाँच वर्षमुनिका बालबालिकासम्मको मृत्युदर देशमै उच्च रहेको देखिएको छ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथ्यांक बिभागले माघ २६ गते प्रकाशन गरेको प्रतिवेदन अनुसार प्रति १ हजार जीवित जन्ममध्ये एक वर्ष नपुगेका २७ जना शिशुको मृत्यु हुने गरेको देखिएको छ। यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति १ हजारमा ३१ जना रहेको उल्लेख छ। साथै, प्रति १ हजार जीवित जन्ममध्ये एक महिना नपुगेका १७ जना नवजात शिशुको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
प्रदेशगत विवरणअनुसार नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा प्रति १ हजारमा २६ जना रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ।
त्यस्तै, शिशु मृत्युदर (एक वर्षमुनि) सबैभन्दा बढी सुदूरपश्चिममा प्रति १ हजारमा ३८ जना रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिएको छ।
यसैगरी, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी प्रति १ हजारमा ४८ जना रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य सेवा पहुँच, दुर्गम भौगोलिक अवस्था, दक्ष जनशक्तिको अभाव, पोषण समस्या तथा सुरक्षित प्रसूति सेवामा न्यून पहुँच जस्ता कारणलाई मृत्युदर उच्च हुनुका प्रमुख कारणका रूपमा विश्लेषण गरिएको छ।