भैरहवा- रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका श्रीनिवास यादव ले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन्। प्रचार प्रसार सुरु भएकै दिन सोमबार यादवले औपचारिक रूपमा पार्टी परित्याग र नयाँ राजनीतिक यात्रा घोषणा गरेका हुन्।
जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादवले उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममार्फत अधिकांश मतदाताको घरदैलोमा पुगेर छलफल गरेको बताएका छन्। सो क्रममा मतदाताको मनोभावना, वर्तमान राष्ट्रिय परिस्थिति र राजनीतिक स्थायित्वको आवश्यकतालाई मध्यनजर गर्दै एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्ति बन्न सक्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।
यादवले जारी गरेको प्रेस विज्ञप्तिमा प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी प्रचार–प्रसारमा सहभागी भए पनि अबको राजनीतिक निकासका लागि एमालेको सिद्धान्त र नेतृत्व उपयुक्त ठानेको उल्लेख गरेका छन्। उनले जसपाको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै आफ्नो उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरेका छन्। साथै उनले रुपन्देही क्षेत्र नं. ३ का मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आग्रह गरेका छन्।
उम्मेदवारी निष्क्रिय पार्दै यादवले एमालेका उम्मेदवार बासुदेव घिमिरे लाई सार्वजनिक रूपमा समर्थन जनाएका छन्। उनले घिमिरेलाई अत्याधिक मतका साथ विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन्। यादवको समर्थन पाएपछि घिमिरेले आफूहरूको जितको आधार थप बलियो भएको प्रतिक्रिया दिएका छन्।
एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकाल ले यादवको पार्टी प्रवेशले रुपन्देही ३ मा एमालेको विजय सुनिश्चित हुने दाबी गरे। जिल्ला अध्यक्ष यज्ञ गैरे ले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एमालेको पक्षमा माहोल बन्दै गएको बताएका छन्।
त्यस्तै, एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थी ले क्षेत्र नं. ३ मा रहेका १ लाख ४० हजार ३५ मतदाता सूर्य चिन्हमा मतदान गर्न उत्साहित रहेको दाबी गरे।
प्रचार–प्रसारको औपचारिक अनुमति सुरु भएकै दिन आएको यादवको यो निर्णयले रुपन्देही ३ को चुनावी समीकरणमा नयाँ बहस सुरु भएको छ। उम्मेदवारी फिर्ता र पार्टी परिवर्तनले आगामी निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।