काठमाडौं- प्रि-मनसुन शुरु भएकाले सावधानी अपनाउन मौसमविदले सल्लाह दिएका छन। यही समयमा हावाहुरी, चट्याङ, असिना र मुसलधारे वर्षाको प्राकृतिक प्रकोप हुने भएकाले पर्याप्त सावधानी आवश्यक पर्ने मौसमविदको सुझाव छ।
‘नेपालमा प्रि-मनसुन शुरु भएको छ। यसलाई प्राविधिक भाषामा ‘कन्भेक्टिभ रेन’ भनिन्छ। यस्तो बेलामा दिनभरि जमिन तात्छ। र, साँझपख मुसलधारे वर्षात् हुन्छ,’ वरिष्ठ मौससमविद् ऋषिराम शर्मा भन्छन्, ‘यही बेला आँधिबेहरी आउँछ र असिना सहितको पानी पर्छ। अनि चट्याङ पनि अत्यधिक पर्छ।’
उनका अनुसार अहिले वर्षात हुनुको मुख्य कारण भारतको बिहार क्षेत्रतिर विकसित भएको निम्नचापीय रेखा हो, जसको असर नेपालमा देखिएको हो। त्यससँगै पश्चिमी वायुको असर पनि परेको छ। ‘निम्नचापीय वायु, पश्चिमी वायु र स्थानीय वायु गरेर तीनवटा वायुको समिश्रणले गर्दा पानी परिरहेको छ,’ शर्मा भन्छन्।
उनका अनुसार यसको विशेषता नै हो, चट्याङ पर्ने, आँधिबेहरी आउने र मुसलधारे पानी पर्ने। तथापि, यो लामो समयसम्म टिक्दैन, एउटा सिजन आउँछ र जान्छ। यस मौसममा केही ठाउँमा असिनापानी पनि पर्छ।
असिना पर्ने विषय वायुमण्डलको तापक्रमको उतारचढावमा भर पर्छ। जस्तै- वायुमण्डलको माथिल्लो सतहमा पानी हुन्छ। त्यो पानी खस्ने क्रममा बीचको वायुमण्डलमा आएपछि चिसो हुन्छ। र, पानीका थोपा जम्छन्। त्यो क्रमशः तल आउँदा-आउँदै पग्लन पाउँदैन र असिनाको रूपमा बर्सिन्छ।
‘प्रि-मनसुनमा सतर्कता अपनाउनुपर्छ। यसले अकस्मात् बाढी ल्याउन सक्छ। बाढी भनेको असार-साउन मात्र आउँछ भन्ने सोचाइ छ। तर, पानी परेपछि जतिबेला पनि बाढी आउनसक्छ,’ शर्मा भन्छन्, ‘त्यसैले सबैले समयमै सर्तकता अपनाउन आवश्यक छ। सबैभन्दा मुख्य कुरा चट्याङ्बाट बच्नुपर्छ। कहिलेकाहीं सतर्कता अपनाउँदा-अपनाउँदै पनि दुर्घटना हुन्छ। तर, सामान्य कुराको जानकारी भयो भने बच्न सकिन्छ।
चट्याङ परेका बेला रुखमुनि बस्न नहुने उनी बताउँछन्। र, हरेक घरमा लाइटिङ अरेस्टर गर्नुपर्छ। लाइटिङ अरेस्टर भनेको चट्याङ पर्यो भने बढी भोल्टेज दिने करेन्टलाई त्यहाँको सुचालक वर्ग तामाको तारमार्फत सीधै जमिनमा पुर्याउनु हो। चट्याङ परिहाल्यो भने करेन्ट पृथ्वीमा प्रवाह हुन्छ, जसबाट घर सुरक्षित रहन्छ।