मनिष अर्याल
काठमाडौंका अधिकांश सडकका फुटपाथ पैदलयात्रुका लागि धरापजस्तै छन्। पहिलो त, अधिकांश सडकमा बटुवा हिँड्नलायक फुटपाथ नै छैन। भएका पनि कसले कतिबेला र खाल्डो बनाइदिएको हुन्छ, जानकारी हुँदैन।
सामान्य पैदल यात्रु त जसोतसो बाटो हेर्दै हिँड्न सक्छन्, दृष्टिविहीन यात्रीका लागि काठमाडौंका फुटपाथ साह्रै कष्टकर छन्।

टायल लगाइएका फुटपाथसमेत दृष्टिविहीन मैत्री बनाइएको छैन। त्यसमाथि त्यही टायल पनि कतिबेला उक्काइएको हुन्छ भन्ने कुनै ठेगान हुँदैन। अधिकांश सडकका पेटीमा जडित टायल उप्काएर थुपारिएको हुन्छ।
अझ सडक पेटीमै सवारी साधन हुइँक्याउने अराजक मोटरसाइकल चालकहरूको त के कुरा गर्नु ! त्यसरी पेटीमा बाइक हुइँक्याउनु पनि टायलको आयु घटाउनु हो। त्यसमाथि अधिकांश सडक पेटीमा व्यापारीको रजगज छ। निर्माण सामग्री थुपार्ने शैली असभ्य हो भन्ने सिकेकै छैनन्, काठमाडौंका बासिन्दाले। सडक पेटीमै पार्किङ अर्को चर्का समस्या हो।
दृष्टिविहीन नागरिक ट्याकटाइल पछ्याउँदै हिँड्छन्। तर, त्यसमा भर पर्ने अवस्था नै छैन। ध्यान दिएर हिँडेन भने खाल्डोमा पर्ने जोखिम हुन्छ। अझ, अधिकांश सडकमा ट्याकटाइल नै छैन।









