पालिका चुनावमा चितवन भरतपुरको मेयरमा माओवादी केन्द्रलाई पार्टीले सघाउन लागेको चर्चाबीच कांग्रेसका ५० जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन्।
भरतपुर महानगर–१७ का उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीभित्र स्वार्थकेन्द्रित राजनीति हाबी भएकाले छाड्न बाध्य भएको उनीहरूको भनाइ छ।
कांग्रेस छाड्नेहरूमा पार्टीका पूर्ववडा सभापति विष्णुप्रसाद सुवेदी, पूर्ववडाध्यक्ष देवनारायण महतो, प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गौतम, मीरा पोखरेल, बलराम कँडेललगायत छन्। उनीहरू कांग्रेसका क्रियाशील सदस्य र साधारण सदस्य हुन्।
जनताभन्दा व्यक्तिमुखी राजनीति चलेकाले आफूहरूले कांग्रेस परित्याग गरी स्वतन्त्र नागरिक मञ्च गठन गरेको उनीहरूको भनाइ छ। यस्तै, वडाको विकासमा जनसहभागिताको रकम दुरुपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा लिप्त रहेको, कृषकका समस्या बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएकोलगायत आरोप पनि उनीहरूले लगाएका छन्।