देशभरका ७५३ वटा पालिकाको चुनाव आउन ३५ दिन बाँकी छँदा निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ। आयोगले शुक्रबार पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको जानकारी दिएको हो। ५ चैतमा प्रकाशित आचारसंहिता २५ चैतदेखि लागू भएको हो।
आचारसंहिताअनुसार सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने आयोगले प्रष्ट्याएको छ। निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रममा अवरोध पुर्याउन नपाइने, सरकारी कार्यालय, सामुदायिक विश्वविद्यालय र विद्यालय क्षेत्र प्रयोग गरी निर्वाचनसँग सम्बन्धित भेला वा प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ।
यस्तै, पार्टी वा तिनका उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट टी–सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण र प्रदर्शन गर्न नपाइने आयोगले बताएको छ।
घर वा जग्गाधनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत सम्पत्तिमा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने, ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न नपाइने, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाइने, कानूनद्वारा निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गर्न नपाइने आयोगको भनाइ छ।
सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गर्न नपाइने, सामाजिक सञ्जालमा गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने, निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन गर्न नपाउने पनि आयोगले जनाएको छ।
यसैगरी, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने सामग्री पोस्ट गर्न नपाइने, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा राख्न नपाइने, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन, प्रकाशन वा प्रसारण गर्न नपाइने आचारसंहितामा उल्लेख छ।
उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवारको राजनीतिक दलको वा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने भएको छ। कोभिड–१९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न नपाइने भएको छ।
निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नपाइने आचारसंहितामा उल्लेख छ। सुरक्षाकर्मीबाहेकका व्यक्तिले हातहतियार र प्रज्वलनशील पदार्थ बोक्न आयोगले निषेध गरेको छ।
कुनै पनि किसिमबाट मतदाताको गोपनीयता भंग गर्न नहुने तथा मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद तथा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न पनि आयोगले रोक लगाएको छ।