सुदूरपश्चिम- सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले २ वर्षसम्म पनि चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्।
यातायात व्यवस्था विभागले एक वर्षमा झण्डै १० लाख सवारीचालक अनुमति पत्र छपान गर्नुपर्ने तथ्यांक छ। विभागमा एउटा मात्र सवारीचालक अनुमति पत्र छपानका लागि प्रिन्टर राखिएको छ। सातवटै प्रदेशका सवारीचालकको अनुमति पत्र विभागले छपान गर्दै आएको छ। यसकारण पनि सवारीचालक अनुमतिपत्र समयमा पाउन असहज हुने गरेको यातायात व्यवस्था कार्यालयको तर्क छ।
यातायात व्यवस्था कार्यालय, धनगढीका प्रमुख नरेन्द्र शाहले १० लाख वार्षिक एक वर्षमा छपान गर्नुपर्ने बाध्ययता रहेको बताए। उनले भने, ‘एक मात्र प्रिन्टर रहेछ। वार्षिक रुपमा १० लाख लाइसेन्स छपान गर्नुपर्ने हुन्छ। एक कार्यालयबाट र एक प्रिन्टरबाट यति काम गर्नुपर्छ। यही कारणले ढिलो आउने गरेको छ।’ यातायात व्यवस्था कार्यालय, धनगढीले ३० हजारको संख्यामा सवारीचालक अनुमति पत्र वितरण गर्न सकेको छैन।
यातायात व्यवस्था विभागले सन २०२३ को डिसेम्बरसम्म ३२ हजार सवारीचालक अनुमति पत्र छपान गरेर पठाएको छ। तर, २०२२ को अगस्ट र डिसेम्बरसम्मका सवारीचालक अनुमति पत्रसमेत आएका छैनन्।
७ वटै प्रदेशका सवारीचालक अनुमति पत्र यातायात व्यवस्था विभागले छपान गर्दै आएको छ।