काठमाडौं- नेपालमा कति पुराना ताम्रपत्र छन् ? ताम्रपत्रबारे सुन्दै आएका सबैका लागि यो उत्सुकता जगाउने विषय हो।
हरेक मुलुकको सांस्कृतिक, राजनीतिक इतिहास केलाउन ताम्रपत्र निकै महत्त्वपूर्ण हुन्छन्। त्यसैल ती इतिहास अनि धरोहर हुन्। जति वर्ष पुराना ताम्रपत्र, शिलापत्र छन्, तिनीहरूले हाम्रो विगतको राजनीतिक, सामाजिक, सांस्कृतिक र तत्कालीन जनजीवनलाई झल्काउँछन्।
विज्ञहरूका अनुसार इतिहासलाई पुष्टि गर्ने बलियो आधार तिनै अभिलेख, ताम्रपत्र, शिलापत्र, सुवर्णपत्र हुन्। त्यसैले हो, तिनको अथाह महत्त्व भएको पनि।
परापूर्व कालमा राजा-महाराजाहरूले आफूले गरेका महत्त्वपूर्ण काम, कीर्ति, सन्धि-सम्झौता एवं लगाएका बन्देजहरू सम्बन्धी ताम्रपत्र र सुवर्णपत्रमा कुदाउँथे। र, मन्दिरका बाहिरी भित्ताहरूमा सबैले देख्ने गरी टाँस्थे। पशुपतिनाथ मन्दिर सबैको आस्थाको केन्द्र भएकाले ताम्रपत्र कुँदाई त्यहाँ टाँस्ने चलन अझ बढी थियो।
राजा रणबहादुर शाहको समय अघिदेखि नै राजा-महाराजाहरूले पनि त्यसरी नै ताम्रपत्र वा सुवर्णपत्रमा कुँदाई मन्दिरमा टाँस्ने गरेको इतिहास भेटिन्छ। तथापि, रणबहादुर शाह र उनका छोरा राजा गीर्वाणयुद्धको समयमा ताम्रपत्रमा कुँदाई पशुपति मन्दिरमा टाँस्ने क्रम अझ व्यापक भएको पुष्टि केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालयमा रहेका ताम्रपत्रहरूबाट हुन जान्छ, जहाँ १०३ वटा ताम्रपत्रहरू रणबहादुर शाहको पालाकै छन्।
रणबहादुर शाहपछि उनका छोरा गीर्वाणयुद्ध हुँदै राजा राजेन्द्रबिक्रम शाह अनि पहिलो राणा प्रधानमन्त्री जंगबहादुरका पालासम्ममा ताम्रपत्र कुँदाई पशुपतिनाथ मन्दिर बाहिर राखिएको भेटिएको छ।
पशुपतिनाथ मन्दिरबाहिर टाँसिएका ताम्र-सुवर्णपत्रहरू रणोद्विप सिंह प्रधानमन्त्री भएको समयमा मन्दिरमा संगमर्मर टाँस्ने क्रममा झिकिएको थियो। रणोद्विप सिंह जंगबहादुरका भाइ हुन्। जंगबहादुरको मृत्युपछि राणा प्रधानमन्त्री रणोद्विप नै भएका थिए। पुरातत्त्वविद डा. गोविन्द टण्डनको पुस्तक ‘इतिहासका पानाहरूमा’को २६ औं पृष्ठमा संगमर्मर टाँस्ने क्रममा पशुपतिनाथ मन्दिरबाहिर टाँसिएका ताम्र-सुवर्ण पत्रहरू झिकिएको प्रसंग उल्लेख छ।
विसं १४०६ मा तत्कालीन बंगालका सुल्तान समसुद्दिनले काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर र विहारसहित पशुपतिनाथ मन्दिरमा पनि आक्रमण गरी तहसनहस बनाएका थिए। त्यस घटनापछि पशुपतिनाथ मन्दिरको पुनःस्थापना नै गर्नु परेको इतिहासमा उल्लेख छ।
पशुपतिनाथ तहसनहस हुँदा धेरै पुराना ताम्रपत्रहरू पनि नष्ट भए। र, तिनलाई भेट्न मुस्किल भयो। रणोद्विप सिंहले मन्दिरबाट झिकेका ताम्रपत्र पशुपति क्षेत्र अन्तर्गतकै पशुपति गोश्वारामा राखियो। फेला परेकामध्ये सबैभन्दा पुरानो ताम्रपत्र विसं १३६० को ताम्रपत्र रहेको डा. टण्डनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
२८ जेठ ०६४ मा गोश्वारामा रहेका ताम्रपत्र अभिलेखीकरणका लागि भद्रकालीस्थित केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालयमा पठाइएको पशुपति गोश्वाराकी वर्तमान प्रमुख सुशीला शर्मा बताउँछिन्। उनका अनुसार गोश्वारामा रहेका ताम्र-सुवर्ण पत्रहरू संरक्षणको दायित्व गुठी संस्थानको भएकाले तिनको अभिलेखीकरण र संरक्षणका लागि अभिलेख शाखा कार्यालय पठाइएको थियो।
हाल अभिलेख शाखामा साना-ठूला गरी २६१ वटा ताम्रपत्र छन्। तीमध्ये सबैभन्दा पुरानो ताम्रपत्र नेपाल संवत ६६८ (विसं १६०५) मा कुँदिएको पाइएको छ। जसको इतिहास ४०८ वर्ष पुरानो छ। अक्षर मेटिँदै गएकाले कसको पालामा कुँदाइएको थियो र त्यसमा के लेखिएको थियो भनेर पढ्न नसकिने अवस्थामा उक्त ताम्रपत्र छ।
नेपाल संवतमै कुँदाइएका ३१ वटा ताम्रपत्र अभिलेख शाखामा अहिले पनि भेटिन्छन्। तर, तीमध्ये धेरै ताम्रपत्रमा लेखिएका अक्षरहरू मेटिँदै गएकाले के अनि कसको पालामा कुँदाइएका थिए भनेर यकिन गर्न गाह्रो छ।
अभिलेख शाखामा उपलब्धमध्ये मिति र लेखिएका अक्षर यकिन गर्न सकिने सबैभन्दा पुरानो हो, कात्तिक १८१४ मा कुँदाइएको ताम्रपत्र। उक्त उक्त ताम्रपत्रमा लक्ष्मीनारायणकी आमाले पशुपतिनाथ मन्दिरमा चढाइएका भाँडाकुँडाको नाम र संख्या उल्लेख छ। जसअनुसार, उनले गागरी-३, चन्दन-१, आरती-१, साउली-१, हँसिया-१, पाथी-१ खड्कुँडा १, कुटो १, थैली-१, स्याङ्गी १, ताप्के १, सलाक-१, पेटारो १, कोप्रा एक गरी १६ प्रकारका सामान चढाएको देखिन्छ। र, ती सामग्रीहरू पशुपतिनाथ मन्दिरमा चढाएको उल्लेख गर्दै विसं १८१४ मा ताम्रपत्र कुँदाएको पाइन्छ। देवनागरी लिपीमा कुँदाइएको उक्त ताम्रपत्र १४० ग्रामको छ।
०००
अभिलेख शाखामा रहेकामध्ये मिति र अक्षरहरू पनि पढ्न सकिने देवनागरी लिपीमै कुँदाइएको अर्को पुरानो ताम्रपत्र हो, ५ माघ १८३२ को। त्यस ताम्रपत्रमा लेखिएको छ, ‘श्री राम कुश्लेश्वर ब्राह्मणद्वारा नित्य पूजा, प्रत्येक वर्ष पूर्णिमा र एकादशी ब्राह्मण भोजन, सामग्रीसहित दक्षिणा दान र गुह्येश्वरीको पाटी बिग्रँदा बनाउनु भन्ने श्री पशुपति, श्री कुश्लेश्वर, श्री गुह्येश्वर र श्री गोरखनाथ संकल्पित ताम्रपत्र।’ यसको तौल ६५० ग्राम छ।
०००
नेपाल संवत ८७८ मा जयप्रकाश मल्लले मखनटोल बस्ने नारायण भट्टलाई ११४ रोपनी र ४६ रोपनी २ कस घडेरी जग्गा १० कस दिएको र नित्य, नैनिमतिक पूजाका लागि दिएको ताम्रपत्र पनि अभिलेख शाखामा छ।
राजा रणबहादुर शाहको पालामा ताम्रापत्र चलनको रूपमा विकास भएको देखिन्छ। अभिलेख शाखामा रहेका २६१ मध्ये १०३ वटा ताम्रपत्र रणबहादुरकै पालामा १५ माघ १८५५ मा कुँदाइएको पाइन्छ।
२६१ मध्ये ५३ वटा ताम्रपत्र कुन मितिमा कुँदाइएका थिए भन्ने पहिचान हुन सकेको छैन। ६८ वटा ताम्रपत्रमा लेखिएका शब्द नै मेटिँदै गइसकेकाले त्यसको विवरण संकलन रजिस्टरमा साभार गर्न नसकिएको अभिलेख शाखाका सहायक द्वितीय तहका कर्मचारी श्रीरत्न शाक्य बताउँछन्।
उनका अनुसार ५३ वटा ताम्रपत्रको मिति अनि ६८ ताम्रपत्रको पूरै विवरण साभार गर्न नसक्नुको कारण ती धेरै जीर्ण भइसक्नु हो। ०६४ सालमा अभिलेख शाखामा ती ताम्रपत्र उपलब्ध भएपछि तिनलाई रसायनद्वारा सफा गर्दा पनि अक्षर देख्न सकिएन।
गोश्वाराबाट उपलब्ध भएका ताम्रपत्रहरू फोहोर, हरियो भइसकेको, अक्षरहरूमा सेतो चकको प्रयोग गरिएको र ठाउँ-ठाउँमा प्वालहरू परेकाले अभिलेखीकरणका लागि ती ताम्रपत्रलाई पुरातत्त्व विभागको अभिलेख शाखामा लगि सफाइ गरिएको उनको भनाइ छ। त्यसपछि अक्षर देखिएका सबै ताम्रपत्रको अभिलेखीकृत गरिएको उनी बताउँछन्।
अभिलेख शाखामा उपलब्ध सबै ताम्रपत्र पशुपति गोश्वाराबाटै आएको दाबी २५ वर्षदेखि त्यहाँ कार्यरत शाक्यको छ। गुठीसँग सम्बन्धित भएकाले अभिलेखीकरणका लागि ताम्रपत्रहरू अभिलेख शाखा कार्यालयमा पठाइएको उनको भनाइ छ।
संकटमा धरोहर
सम्बन्धित निकायमा कार्यरत कर्मचारीका अनुसार गोश्वाराबाट केन्द्रीय लगत तथा अभिलेख शाखामा अभिलेखीकरणका लागि पठाइएका ताम्रपत्रहरू १७ वर्षदेखि त्यतै छन्। त्यहाँ उपलब्ध भएलगत्तै सफा गरिएका २६१ वटा ताम्रपत्रको हातल अहिले निकै नाजुक छ।
दराजै-दराज राखिएकोे पुरानो र अँध्यारो कोठामा ती ताम्रपत्र राखिएका छन्। त्यसरी पुरानै दराजमा १७ वर्षदेखि थन्क्याइएका ताम्रपत्रहरू धुलाम्य छन्। काम नलाग्ने वस्तुसरह लथालिंग पारामा राखिएका ताम्रपत्रहरूलाई फेरि दोस्रोपटक कहिले सफा गरिन्छ, कुनै ठेगान छैन। सफा नगर्ने हो भने धुलाम्य रहेका ताम्रपत्रका अक्षरहरू झनै मेटिने र खिया लागेर नष्ट हुने खतरामा छन्। कार्यालयमा रहेका ताम्रपत्र कहाँबाट अनि कहिले पठाइएको भन्ने कुरामै अनभिज्ञ रहेको बताउने त्यस कार्यालय प्रमुख लछुना शर्मामा पनि ताम्रपत्रको संरक्षणतर्फ गम्भीरत देखिएन। त्यसैले नेपाली इतिहास र संस्कृृतिका धरोहर ती ताम्रपत्रका अक्षर मेटिएर नष्ट हुने खतरा देखिन्छ।
के हो ताम्रपत्र ?
विज्ञहरूका अनुसार इतिहास लेखनमा विभिन्न किसिमका पत्र प्रयोग भएका छन्। ती हुन्, भोजपत्र, ताडपत्र, सुवर्णपत्र, रजतपत्र, कनकपत्र, ताम्रपत्र। तिनले हाम्रो धर्म, संस्कृतिको पनि प्रतिनिधित्व गर्छन्।
भोजपत्र भन्ने रुख हुन्छ। यो दक्षिण-मध्य चीन, अफगानिस्तान, पूर्वी हिमालय, नेपाल र तिब्बतको रैथाने वनस्पति हो। नेपालमा यो जहाँतहीं पाइन्छ। यो मध्यम आकारको पतझर रुख हो। र, ठूला पात हुने भएकाले कागजको विकास हुनुअघि मानिसहरू भोजपत्रमै लेखपढ गर्थे। त्यो समयमा भोजपत्रमा लेख्न कलमको विकास पनि भइसकेको थिएन। र, बाँस ताछेर कलमको जस्तो आकार बनाई गोलभेंडा अथवा विभिन्न रुख बिरुवाको रसमा डुबाएर लेख्ने चलन थियो।
यस्तै, तराईमा पाइने ताडको रुखमा टाँसिएको पत्र हुन्छ। त्यसलाई काटेर मिलाई एकै आकारको बनाएर लेख्ने चलन परापूर्वकालमा थियो। यस्ता भोजपत्र र ताडपत्रको आयु कम हुने भएकाले पछिसम्म जोगाएर सुरक्षित राख्न धातुमा लेख्ने चलन विकास भएको पुरातत्त्वविद डा. गोविन्द टण्डन बताउँछन्। भोज र ताडपत्र पछि ताम्रपत्र, सुवर्णपत्र, रजतपत्र र कनकपत्र प्रचलनमा आएको उनको भनाइ छ।
उनका अनुसार सुवर्णपत्र भन्नाले सुनको पाता बनाएर लेख्नु हो, जुन एकदमै किम्ती वस्तुमा पर्छ। परापूर्वकालमा एक देशका राजाले अर्को देशका राजासँग सन्धि, सम्झौता गुर्नपरे सुवर्णपत्रको प्रयोग गरिन्थ्यो।
धातुबाटै बन्ने अर्को हो रजतपत्र, जुन चाँदीको पत्र हो। यो खासै प्रचलनमा थिएन। पित्तलको पातामा अक्षर कुँदाएर बनाइएकोलाई कनकपत्र भनिन्छ। यस्तै, ताम्रपत्र तामाको पत्रमा लेखिन्थ्यो।
धातुहरूमा पित्तल र चाँदीभन्दा तामालाई बढी महत्त्व दिइन्छ। तामालाई भगवानको एक रूपमा हेरिने भएकाले त्यसमा खुट्टा लाग्नु हुँदैन भन्ने धार्मिक मान्यता रहेको डा. टण्डन बताउँछन्। ताम्रपत्रमा राजाहरूका सन्धि, सम्झौता लेखी प्रसिद्ध तीर्थस्थलहरू पशुपतिनाथ र गुह्येश्वरी मन्दिर तथा पाटनलगायत दरबार स्क्वायरको बाहिरमा टाँसिन्थ्यो। किनकि, ती ठाउँमा धेरै मान्छे आएर हेर्थे। र, राजाहरू बीचमा यस्तो किसिमको सम्झौता भएको रहेछ भनेर जानकारी पाउँथे।
रणोद्विप सिंहको पालामा पशुपतिनाथ मन्दिरमा संगमर्मर टाँस्ने काम भयो र सबै ताम्रपत्र भण्डारण गरियो। त्यस क्रममा पशुपति गोश्वारा निकायमा ती ताम्रपत्र पठाइयो। ‘नेपालमा कागज आउनुअघि राजाहरूले सन्धि, सम्झौताका लागि ताम्रपत्र नै प्रयोग गर्ने प्रचलन थियो,’ डा. टण्डन भन्छन््, ‘कुनै दाताले आफन्तहरूको सम्झनामा मन्दिरलाई जमिन दिन्छु, त्यो जग्गाको आम्दानीले यसोयसो गर्नु भनी गुठीको व्यवस्थाको रूपमा पनि ताम्रपत्र कुँदाई मन्दिरमा टाँस्ने परम्परा रहेको पाइन्छ।’
यस्तै, सती जाने महिलाले मेरो नाममा उल्लेखित वस्तु चढाएको छु भनेर पनि ताम्रपत्र कुँदाउने गरेका थिए। केही महिलाले भगवानको नाममा चुँलेसी, भाँडाकुँडा अपर्ण गरेर ताम्रपत्र लेखेर मन्दिरमा टाँसेको पनि भेटिने उनी बताउँछन्।
असुरक्षित ताम्रपत्र
धातुको महत्त्व छ। त्यसकारण हाम्रो इतिहासका कथा बोकेका ताम्रपत्र, सुवर्णपत्रहरू लुकाउने, चोर्ने, गालेर भाँडाकुँडा बनाउन थालेकाले नेपालमा रहेका धेरै ताम्रपत्रहरू नासिएको डा. टण्डनको भनाइ छ। अहिले हामीकहाँ जे-जति ताम्र-सुवर्ण पत्रहरू छन्, तिनले इतिहास, सांस्कृतिक, आर्थिक र राजनीतिक र तत्कालीन समयको जनजीवनलाई बताउने उनी बताउँछन्।
‘हेर्दा आकारमा सानो देखिने ताम्रपत्रले कुनै ठाउँ, समाज वा कुनै देशको इतिहास बताउँछ। त्यसकारण ताम्रपत्र सानो छ भन्दैमा त्यसलाई बेवास्ता गर्नु हुँदैन,’ भन्छन्, ‘गोश्वारामा रहेका ताम्रपत्रहरू धार्मिक, सांस्कृतिक र लौकिक, आध्यात्मिक महत्त्व बोकेका छन्। तर, समग्रमा तिनले नेपालको इतिहासलाई बताउने गर्छन्।’
उनका अनुसार केन्द्रीय लगत तथा अभिलेख शाखामा राखेका ताम्रपत्रहरूलाई वर्गीकरण गरेर राख्न आवश्यक छ। कुन ताम्रपत्र कुन क्याटोगरीमा पर्छ, त्यसअनुसार राख्न सकिने हो भने सहज हुने उनको सुझाव छ। भन्छन्, तर, भएका ताम्रपत्रको सफाइ गर्ने कामसम्म पनि नभएको देख्दा हाम्रो इतिहास नै धरापमा छ भनेर चिन्ता लाग्छ।’
ताम्रपत्रहरू विभिन्न लिपीमा लेखिएका छन्। जुन-जुन निकायले ताम्रपत्रको संरक्षणको जिम्मेवारी लिएका छन्, तिनमा कार्यरत कर्मचारीलाई नै ताम्रपत्रमा लेखिएको कुरा पढ्न आउँदैन। न त सुरक्षित राखिएको भनिएका ताम्रपत्रहरूको महत्त्व बुझाउन नै आउँछ। भन्छन्, ‘त्यसकारण जुन-जुन निकायमा ताम्रपत्रहरू राखिएका छन्, ती क्षेत्रमा ताम्रपत्रको महत्त्व बुझेका अनि अरूलाई बुझाउन सक्ने संस्कृतिविद् हुन आवश्यक छ।’