नारायणगढ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ ।
खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा छन्। उनले ५० वटा घारबाट मौरीपालन सुरु गरेका थिए ।
भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेकोे बताउँछन् । मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरुमा उत्साह थपिएको देवकोटाले बताए ।
स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उहाँको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताए ।