कैलाली । मंगलबार रातीदेखि परिरहेको पानी पछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित भएको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनीमा ४ सय बढी घर डुबानमा परेको उनले जानकारी दिए । हसुलिया गौरीगङ्गा सुखडमा डुबान भएको छ । कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन् । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उद्दार पछि धनगढीस्थित निसर्ग अस्पतालमा चौधरीको उपचार भइरहेको छ ।

अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।

