काठमाडौं- नेपाल सरकारका सचिव हुन्, सुरेश आचार्य। हाल जल तथा ऊर्जा आयोगका सचिव। गीतकार हुन् उनी। प्रशासक सुरेश आचार्य, गीतकारका रूपमा सियरा आचार्य। उनै आचार्यलाई सांग्रिला क्रिएसनका विनोद बमले तीज गीत रचना गर्न हौस्याइरहन्थे।
सांग्रिला क्रिएसनले म्युजिक भिडियोहरू उत्पादन गर्छ। र, सचिव आचार्यले आफ्ना अधिकांश गीतको म्युजिक भिडियो बमकै प्रोडक्सन हाउसबाट निर्माण गराएका छन्।
गत वर्ष तीजको समयमा बमले विशेष जोड गरे, तीज गीत रचना गर्न। पोहोर सालका तीज गीत उच्छृंखल पाराका ज्यादा भएको भन्दै व्यापक आलोचना भयो। त्यसैले तीज गीतमा आचार्यलाई खासै रुचि थिएन। दोहोरो अर्थ लाग्ने गीत, सांस्कृतिक पाटोलाई तिलाञ्जली दिइएका ‘आइडम सङ’। तीज गीतले संस्कृति नै विकृत हुँदै गएकामा आचार्यलाई पटक्कै चित्त बुझेको थिएन।
तथापि, बमको विशेष आग्रहका कारण पोहोरको तीज सकिनेबित्तिकै गत भदौमै आचार्यले एउटा स्क्रिप्ट तयार पारे। र, आफ्नो गीतमा तीजमा महिलाहरूको वास्तविक पीडा र भावना केलाए, आराधना किन गरिन्छ भन्ने पाटोलाई उजागर गरे।
अहिले शहरीया महिलाहरूमा तीजको चमक-धमक धेरै छ। तीज आउनु एक-डेढ महिना अघिदेखि नै पार्टी प्यालेस जाने, झरिझुट्ट गरगहना देखाउँदै आइटम गीतमा कम्मर मर्काउने। र, समाजमा तीजलाई भड्किलो पर्व बनाउने। विकृति मौलाएको छ तीजमा।
तर, पहाड अथवा दूरदराजका गाउँका महिलाहरूको वास्तविकता फरक छ। तीजको समयमा बुहारी माइत नगएर घर सम्हालिदिऊन् अनि आफ्ना विवाहित छोरी-चेलीहरू माइतीघर आऊन् भन्ने चाहना सासू र श्रीमानको हुन्छ। आफ्नो तीज गीतमा आचार्यले यही पाटो उजागर गर्ने प्रयास गरे।
‘सासू र श्रीमानको चाहना बुहारी-श्रीमती तीजमा माइत नजाउन्। घरमा के को कमी छ ? सबै कुराको व्यवस्था घरैमा गरिदिन्छु। श्रीमान भएको नाताले तिम्रा लागि शिवजी म नै हो भन्ने भावबाट श्रीमानको भावलाई यो गीतमा प्रस्तुत गरिएको छ,’ गीतकार आचार्य भन्छन्, ‘गीतमा श्रीमती माइत नगई घरै बसून् भनेर श्रीमानले श्रीमतीलाई फकाएको छ। तर, श्रीमतीले हरेक हिसाबले आफ्ना तर्क गरेर वर्षमा एकपटक आउने तीजमा माइत जानैपर्छ भनेर मायालु भावमा फकाएर, घुर्क्याएर साम, दाम, दण्डभेदको प्रयोग गरी श्रीमानले माइत जाने वातावरण बनाउने गरी गीत तयार भएको छ।’
यस्तो छ गीतको कथा
उमेरले ५७ वर्ष टेकेका सचिव आचार्यको विवाह भएको पनि २८ वर्ष बित्यो। यस दौरान उनकी पत्नी सञ्जू पोखरेल आचार्यले तीज मान्नकै लागि मुस्किलले १-२ पटक मात्र माइत जान पाइन्। उनले आफ्नै पत्नीको पीडालाई गीतमा उतार्ने निर्णय लिए।
तीज आउँदा माइत जान धेरैपटक उनकी श्रीमती सञ्जूले श्रीमानलाई फकाउने कोशिस गरिन्, कहिलेकाहीं घुर्की पनि लगाइन्। तथापि, परिस्थिति यस्तो बन्थ्यो, उनले तीजमा माइत जान र गीतकारलाई पठाउन सहज भएन। ‘तीजमै किन, बरु अरू बेला वर्षमा ३-४ पटक माइत जाउली’ भन्दै उनले श्रीमतीलाई टारिरहे।
र, आफ्नै पत्नीले माइती जान गरेको ढिपीलाई गीतको रूप दिए। गत वर्ष भदौमा करिब ३ दिन लगाएर उनले गीत कोरे। त्यसकै लागि घरकै बार्दली रोजे। गीत रचना गर्दै गर्दा उनले ३-४ पाना त च्याते पनि। लेख्दै, च्यात्दै तयार भयो तीज गीत।
गीतकार आचार्य प्रायः विदेश भ्रमणका क्रममा फुर्सदिलो समयलाई गीत रचना गर्न उपयोग गर्छन्। कतै घुम्न गएको गन्तव्यले पनि उनलाई सिर्जनाको बहाना दिन्छ। यो गीतको रचनालाई भने घरकै लोकेसन दिए। किनकि, गीतमा घर-घरको कथा थियो। अर्थात्, तीजमा श्रीमतीलाई माइती जान रोक्ने प्रयास हर घरमा हुन्छ नै। आफ्नो तीज गीतलाई जम्माजम्मी एउटा स्थायी र चारवटा अन्तरामा समेटे।
सामान्यतया एउटा गीतमा एउटा स्थायी अनि दुईजति अन्तरा हुन्छन्। तर, तीजमा सामूहिक नृत्यका लागि ५-६ मिनटको गीत हुन आवश्यक हुन्छ। त्यसैले उनले आफ्नो गीतमा ४ वटा अन्तरा राख्ने निर्णय लिए।
गीतको शब्द चयनपछि पत्नी सञ्जूलाई देखाए। आफ्नै कथा देखेपछि सञ्जूको मन नलोभिने कुरै थिएन। उनले मन पराएपछि त के थियो, गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणले गति लिइहाल्यो।
तीज गीतको लिरिक्स सांग्रिला क्रिएसनका विनोद बमलाई दिए। त्यो लिरिक्समा कस्तो संगीत भर्ने र कुन कलाकारलाई गाउन लगाउँदा उपयुक्त हुन्छ भन्ने निर्णय गर्ने अधिकार पनि बमलाई नै दिइयो। तथापि, बम र गीतकार आचार्य मिलेर गायिका सुनिता बुढाक्षत्रीलाई लोक-आधुनिक भाकाको गीत गायनको जिम्मा दिइयो।
संगीत राजेश थापाले गर्ने भए, संगीत संयोजनको जिम्मा रमेश सेन्चुरीले पाए। ‘ए प्लस’ स्टुडियोमा गीत रेकर्ड गरियो। अनि मिक्सिङको जिम्मा नरेश बीबीसीले लिए।
गीतका शब्दअनुसार गायिका बुढाक्षत्रीले गायनमा न्याय गरेको मान्छन्, गीतकार आचार्य। गीत रेकर्डअघि गायिका क्षत्रीसँग गीतकार आचार्यको जान पहिचान थिएन। म्युजिक भिडियो निर्माण पक्षबाट पनि गायिका क्षत्रीले स्वर उपयुक्त हुने सुझाव आयो। र, अन्ततः घन्कियो- ‘स्वामीजीले भन्छन् मलाई घर अँध्यारो नपार, तीजको बहानामा मलाई एक्लो नछाड।’
म्युजिक भिडियोमा जुना कार्की, सञ्जू आचार्य र सुरज लुइँटेल फिचर भए। गायिका बुढाक्षत्रीको स्वरमा सञ्जूले लिप्सिङ मिलाइन्। म्युजिक भिडियोका सिनेम्याटोग्राफर करन चासिर छन् भने कोरियोग्राफर अनिल थुलुङ राई। सम्पादन र रंग संयोजन विनोद बमले गरेका छन्। एमयूएमा रोनिशा अधिकारी, प्रोड्युसर सञ्जू आचार्य र पोस्ट प्रोडक्सन सांग्रिला क्रिएसनको छ। पूजा र विनोद बम मिलेर प्रोडक्सन, इडिटिङलगायत काम गरे। सुटिङ धर्मस्थलीको एउटा लोकेसनमा गरियो।
आफ्नै कथा रहेको गीतमा सञ्जूले पनि अभिनय गर्ने अवसर पाइन्। कलाकारको कोरसले छमछमी नाचेर उनलाई साथ दियो। गत शुक्रबार गीतकार आचार्यको युट्युब च्यानल ‘सियरा नियो अफिसियल’मार्फत गीत सार्वजनिक गरियो। तीन दिनमा झण्डै ५० हजारजनाले गीत हेरिसकेका छन्।