काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन्।
Advertisement
पार्टी सम्वद्ध रुकुमपश्चिम-काठमाडौं सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको दाबी गरे।
आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताए। अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए।
उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे।