काठमाडौं- राज्य सत्ताको गलत क्रियाकलापविरुद्ध युवा अभियन्ताहरूले बृहत आन्दोलन घोषणा गरेका छन्।
आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै युवा पुस्ताले राज्य सत्ताको गलत क्रियाकलापविरुद्ध भोलि शनिबार काठमाडौंमा बृहत आन्दोलन गर्ने बताएका हुन्।
सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन- २०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुठा मुद्दा लगाएर उद्योगहरूलाई २२ अर्ब विद्युत बक्यौता छुट दिन खोजिएको उनीहरूको आरोप छ। प्राधिकरणको २२ अर्ब बक्यौता उद्योगी व्यवसायीहरूले तिर्नुपर्ने र प्राधिकरण डुबाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरूले ९ बुँदे माग सार्वजनिक गरेका छन्।
कार्यक्रमका वक्ता रवि किरणले देशमा बेथिति र भ्रष्टाचार बढिरहेकाले त्यसविरुद्ध सशक्त आन्दोलन गर्न लागिएको बताए। अर्का वक्ता विजय कँडेलले वर्तमान सरकारको काम कारवाहीप्रति कसैलाई पनि चित्त नबुझेको बताए।
समाजसेवी विमल पन्तले सरकारले लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूलाई न्याय दिनै नचाहेको बताए। अर्का वक्ता अजय श्रेष्ठले केही मानिसले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई गलत मुद्दा लगाएर निकाल्न खोजेको भन्दै त्यसविरुद्ध आम युवा सशक्त रूपमा सडकमा उत्रिने बताए। अभियन्ता डा। निकोलश भुसालले सत्तामा रहेकाहरूले विदेशीको नुन खाएर यो देशको सुन र युवाको खुन बेचिरहेको टिप्पणी गरे।