पर्वत- जलजला गाउँपालिका– २ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल आदीबराह ताल पहिरोका कारण यस वर्ष पनि पुरिएको छ ।
जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशअन्तर्गत ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत सामान्य मर्मत गरिएको भए पनि पुनः पहिलेकै अवस्थामा पुगेको स्थानीय नविन जिसीले जानकारी दिए।
अविरल वर्षासँगै बुधबार बिहान पहाडबाट झरेको पहिरोले एक घर जोखिममा परेको छ भने सयौँ रोपनी धान खेतसमेत पुरिएको जलजला वडा नं ४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोले जोखिम बढाएको बताए। समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदीबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अंग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ ।
करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभइ त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ । स्थानीय बासिन्दाका अनुसार नीलो तालको बिचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो ।
स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो ।