टीकापुर- कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत २ वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ १ हजार ३७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।
टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको हो । उनले २०७९ असारदेखि अस्पतालमा आफ्नो सेवा थालेको थियो । उनका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ । २ वर्षको अवधिमा सामान्य शल्यक्रिया ६०० जना गरेको अस्पतालले जनाएको छ । ‘सामान्य शल्यक्रिया छ सय जति भएका छन् भने १५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ’, उनले भने, ‘पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर दुई शल्यक्रिया भएका छन् ।’
जटिल खालका शल्यक्रियामध्ये ‘एपेन्डिक्स’ फुटेका ३, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा ‘सिस्ट’ पलाएको चार, बच्चाको ‘हर्जिनोटोमी’ ४२ भएको पनि डा भट्टले जानकारी गराए । यसैगरी हर्निया दुई सय, फिस्टुला ३६, पाइल्स ४५, दिसा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिसा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोसिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्निया चार शल्यक्रिया भएका छन् ।
दिसा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने दुई जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाँठागुठी पलाएको, स्तनमा सामान्य गाँठागुठीको छ सय बढी शल्यक्रिया भएका छन् । यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् ।