टीकापुर- बेत वन भनेर पहिचान बनाएको टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ । वनले यस वर्ष एक सय ५० कागतीका र एक हजार डाले घाँस बकाइनो तथा आँपका बिरुवा रोपेको हो ।
कागतीखेतीबाट वनको आम्दानी हुने र डाले घाँसबाट उपभोक्तालाई पशुपालनमा सहज हुने भएपछि खेती सुरु गरिएको वनका अध्यक्ष जितराम चौधरीले बताए। दुई सय ५८ हेक्टर क्षेत्रफल भएको सत्ती वनको करिब एक सय २० हेक्टरमा बेतखेती गरिएको छ । बाँकी रहेको जग्गालाई सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यले कागती र डाले घाँसखेती गर्न थालिएको उनले उल्लेख गरे ।
नदी कटान रोक्न बाँसका एक सय बिरुवा लगाइएको चौधरीले बताएका छन् । यस वर्ष काँचो बेत दुई हजार सात सय क्विन्टल सङ्कलन भएको वनका प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार उत्पादन भएकोमध्ये १० प्रतिशत वन उपभोक्तालाई, १० प्रतिशत जिल्लाबासीलाई र ८० प्रतिशत बोलपत्र आह्वान गरी बिक्री गर्ने गरिएको छ । उपभोक्तालाई रु ५० र गैरउपभोक्तालाई रु ९० मा प्रतिकिलो बिक्री हुँदै आएको छ ।
वनको आम्दानीबाट सामाजिक क्षेत्रमा काम गरिँदै आइएको वनका पूर्वसचिव शेरबहादुर साउँदले बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, विभिन्न सीपमूलक तालिमलगायत क्षेत्रमा लगानी गर्ने गरिएको उनले जानकारी दिए ।