काठमाडौं- गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको बताएका छन् ।
बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए ।
गृहमन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब रु पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिए । गृहमन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का २ हजार २ सय १२ घट्ना घटेकामा पहिरो, बाढी र चटयाङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए ।
गृहमन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उनले जानकारी दिए। उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिए । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्वतयारी गरिरहेको उनले बताए ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापरुको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेका अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको गृहमन्त्री लेखकको भनाइ थियो ।
बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्ययोजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारवाही थाल्ने बताए । गत असार २८ गते नारायणगढ–मुग्लिङ खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए ।
Advertisement