काठमाडौं- आज ११ अगस्ट। विश्व इतिहासमा भएका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९९- सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण
सन् १९९९ मा आजकै दिन सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण लागेको थियो। उक्त ग्रहण एसिया, युरोप र अफ्रिकाको अधिकांश हिस्सा तथा उत्तर अमेरिकाको केही क्षेत्रबाट देखिएको थियो। संसारको घना आवादी रहेका हिस्साबाट देखिएकाले यसलाई इतिहासमै सर्वाधिक अवलोकन गरिएको सूर्य ग्रहण मानिएको छ।
– सन् १९९२- अमेरिकामा खुल्यो त्यतिन्जेलको ठूलो सपिङ मल
सन् १९९२ मा आजकै दिन अमेरिकाको मिनेसोटा ब्लुमिङटनमा त्यतिन्जेलको विश्वकै ठूलो सपिङ मल व्यापारीहरूका लागि खुला गरिएको थियो। ४८ लाख ७० हजार वर्गफिटमा फैलिएको उक्त सपिङ इन्डोर थिम पार्क पनि छ। र, त्यसमा बर्सेनि ४ करोड पर्यटकले भ्रमण गर्दै आएका छन्।
– सन् १९२४- विश्वको पहिलो न्युज रिल
सन् १९२४ मा आजकै दिन विश्वको पहिलो न्युज रिल खिचिएको थियो। अमेरिकी राष्ट्रपति उम्मेदवारहरू काल्भिन कुलिज, जोन डब्लू डेभिस र रोबर्ट ला फोलेटको फुटेज नै विश्वको पहिलो न्युज रिल थियो।
– सन् २०१६- विश्वकै बुढो हड्डीवाला जनावर
सन् २०१६ मा आजकै दिन वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले ग्रिनल्यान्ड सार्कलाई विश्वकै बुढो जनावर घोषित गरेका थिए। त्यतिबेला उक्त सार्कको उमेर ३९२ वर्ष थियो।
– सन् २०१२- इरान भूकम्पमा गयो १५३ को ज्यान
सन् २०१२ मा आजकै दिन इरानका ताब्रिज र अहरमा भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए। ६.४ रेक्टर स्केलका दुईवटा धक्कामा परी १ हजार ३०० जना घाइते भएका थिए।
– सन् २००३- फ्रान्समा हिटवेभबाट गयो १४४ को ज्यान
सन् २००३ मा फ्रान्सको राजधानी पेरिसमा हिटवेभका कारण १४४ जनाको ज्यान गएको थियो। आजकै दिन पेरिसमा ४४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।