काठमाडौं- आज ९ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९६५- सिंगापुरले छाड्यो मलेसिया
सन् १९६५ मा सिंगापुर मलेसियन फेडेरेसनबाट अलग भएको थियो। सन् १९६३ मा मलेसिया सम्झौताअन्तर्गत सिंगापुर उक्त फेडेरेसनमा सामेल भएको थियो। तर, त्यसको दुई वर्षपछि नै फेडेरेसनका अन्य सदस्यहरूसँग तीव्र मतभेद भएपछि सिंगापुरका नेताहरूले अलग हुने निर्णय लिएका थिए। र, प्रधानमन्त्री ली क्वान युको नेतृत्वमा स्वतन्त्र बनेको थियो।
– सन् १९४५- नागासाकीमा अमेरिकाले खसाल्यो परमाणु बम
सन् १९४५ मा आजकै दिन अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसालेको थियो। त्यसको ३ दिनअघि हिरोसिमामा पनि अमेरिकाले परमाणु बम खसालेर लाखौंको ज्यान लिएको थियो। ‘फ्याट ब्वाइ’ नाम दिइएको २१ किलोटनको परमाणु बमले नागासाकी ध्वस्त भएको थियो। त्यसबाट कम्तिमा ८० हजार मानिसको ज्यान गएको थियो। १५ अगस्टमा जापानले आत्मसमर्पण गरेको थियो। र, सेप्टेम्बर १९४५ मा दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो।
– सन् १९४२- भारत छोडो आन्दोलन शुरु
सन् १९४२ मा आजकै दिन इस्ट इन्डिया कम्पनीविरुद्ध ‘भारत छोडो’ आन्दोलन शुरु भएको थियो। महात्मा गान्धीको नेतृत्वमा शुरु भएको शान्तिपूर्ण आन्दोलन ५ वर्षपछि मात्र सफल भयो। र, सन् १९४७ मा अंग्रेज भारत छाडेर ब्रिटेन फर्किए। आन्दोलन शुरु हुनु एक दिनअघि गान्धीले मुम्बईको गोवालिया मैदानमा ‘करो या मरो’ शब्दावली प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलनका लागि आह्वान गरेका थिए। अंग्रेजहरूले सन् १८५८ देखि भारतमा औपनिवेशिक शासन शुरु गरेका थिए। र, १५ अगस्ट १९४७ मा भारत अंग्रेजको पञ्जाबाट मुक्त भएको थियो।
– सन् २०२१- १४ हात्तीले हटाए डेढ लाख जनसंख्यालाई
सन् २०२१ मा आजकै दिन १४ वटा हात्तीलाई बाटो दिनकै लागि चीनमा १ लाख ५० हजार जनसंख्यालाई अन्यत्र पठाउनु परेको थियो। ५०० किलोमिटरको यात्रा गर्दै आफ्नो बासस्थान फर्किरहेका ती हात्तीको झुण्डलाई बाटो दिनकै लागि सरकारी अधिकारीहरूले डेढ लाख जनसंख्यालाई अन्यत्र पठाउनु परेको थियो। ती हात्तीले गरिरहेको लामो यात्राको तस्बिर र भिडियो संसारभर चर्चित बनेका थिए।
– सन् २०२१- झाडापखालाले लियो ८०० को ज्यान
२०२१ जनवरीदेखि आजसम्मका ७ महिनामा नाइजेरियामा झाडापखालाले ८०० जनाको ज्यान लिएको थियो। त्यहाँको रोग नियन्त्रण ब्युरोका अनुसार त्यसबीचमा झाडापखालाका ३१ हजार ४२५ बिरामी फेला परेका थिए।
– सन् २०१७- नेपालमा छाउ गोठमाथि प्रतिबन्ध
सन् २०१७ मा आजकै दिन संसदले छाउ गोठमाथि प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो। महिनावारीका बेला महिलाहरूलाई त्यस्ता गोठमा राख्ने चलन अद्यापि कायम नै छ। तथापि, धेरै इलाकामा छाउ गोठ भत्काइएको छ। उक्त कानून अगस्ट २००९ देखि कार्यान्वयनमा आएको थियो।