काठमाडौं- कुरा गत वर्षको हो। मनिषा तामाङ (नाम परिवर्तन) को चिनजान सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ वर्षीया सुन्दरी राईसँग हुन्छ। उनीहरू बीच कुराकानी बाक्लिँदै जान्छ।
सुन्दरीले आफू नेपाली भए पनि १० वर्षअघि नै चीनमा विवाह गरेको मनिषालाई बताउँछिन्। आफूले विवाह गरेर आएको स्थान राम्रो अनि धनी परिवार भएकाले एकदमै सुखसयलमा बस्दै आएको उनले दाबी गर्छिन्। मध्यम वर्गीय परिवारमा हुर्किएकी मनिषालाई पनि चिनियाँ धनी नागरिकसँग विवाह गर्न चाहे एउटा केटा आफ्नो सम्पर्कमा रहेको सुन्दरीले बताउँछिन्। र, मनिषा पनि सुन्दरीले फालेको पासोमा पर्छिन्।
सुन्दरीले भनेअनुसार मनिषा गाउँबाट चिनियाँ नागरिकलाई भेट्न काठमाडौं आइपुगिन्। र, काठमाडौं ठमेलमा सुन्दरीकै माध्यमबाट चिनियाँ नागरिकलाई भेटिन् पनि। सुन्दरीले केटाको बारेमा अनेक बढाइचढाइ गर्दै धनी व्यक्ति भएको बताएकी थिइन्। उनको कुरामा विश्वास गर्दै मनिषा गत १० फागुनमा भिजिट भिसामा चीन पुगिन्। र, उतै विवाह गरिन् पनि।
तर, चीन पुग्दा उनले सुन्दरीले भनेको भन्दा निकै फरक पाइन्। नयाँ ठाउँमा चिनेको कोही थिएन। हारगुहार मागौं भने पनि भाषाको समस्या। आफूलाई चीन पुर्याएर चिनियाँ नागरिकको जिम्मा लगाएवापत सुन्दरीले डेढ लाख लिई आफूलाई बिक्री गरेको मनिषाले उतै पुगेपछि मात्र थाहा पाइन्।
विवाह गरेका चिनियाँ नागरिकले मनिषालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिन थाल्यो। जबर्जस्ती यौन शोषण गर्न थालेपछि उनलाई असह्य भयो। र, उनी जसरी पनि नेपाल फर्कने उपाय खोज्न थालिन्। चीनमा आफू समस्यामा परेको कुरा उनले नेपालमा परिवारलाई जानकारी गराएपछि उनको परिवार काठमाडौं बबरमहलस्थित मानव बेचविखन तथा अनुसन्धान ब्युरोको सम्पर्कमा आयो।
ब्युरोले मनिषाको उद्धार गर्न चीनस्थित नेपाली दूतावासलाई आग्रह गर्यो। र, ९ असारमा उनलाई उद्धार गरी नेपाल फर्काइयो।
नेपाल फर्किएपछि मनिषाले मानव बेचविखन तथा अनुसन्धान ब्युरोमा आफूलाई बेच्ने सुन्दरी राईविरुद्ध जाहेरी दिइन्। ब्युरोले ११ असारमा काठमाडौंबाटै सुन्दरीलाई पक्राउ गर्यो। हाल उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ। घटनामा संलग्न चिनियाँ नागरिकलगायत व्यक्तिहरूको खोजी र थप अनुसन्धान जारी छ।
०००
यस्तै, विवाहको बहाना बनाई चीनमा नेपाली महिलालाई बिक्री गरेको अभियोगमा ४३ वर्षीया मनमाया घले पनि पक्राउ परेकी छन्। चिनियाँ नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन र त्यसपछि नेपाल आउन-जान मिल्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिज’ गराई चीनमा पुर्याई उनले नेपाली महिलालाई बिक्री गरेको जाहेरीपछि उनी पक्राउ परेकी हुन्।
नुवाकोट किस्पाङ गाउँपालिका-१ स्थायी घर भई हाल चीनको हार्बिन सिटीमा बस्दै आएकी मनमायाले आर्थिक अवस्था कमजोर भएकी सपना मगर (नाम परिवर्तन) लाई ग्रिन कार्डको प्रलोभन दिँदै चीन पुर्याएर बिक्री गरेकी थिइन्। पाँच वर्षपछि ग्रिन कार्ड बनाउन सकिन्छ, केटा धनी भएकाले नेपाल आउन-जान मिल्छ भन्दै प्रलोभनमा पारी उनले सपनालाई चिनियाँ नागरिकसँग विवाह गर्न बाध्य बनाएकी थिइन्।
चिनियाँ नागरिकसँगको मिलेमतोमा मनमायाले सपनालाई काठमाडौं बोलाई काठमाडौं जिल्ला अदालतमा १३ चैत ०७९ मा ललाई-फकाई कोर्ट म्यारिज गराइदिइन्। र, १ वैशाख ०८० मा सपनालाई चीन पुर्याएर आफू भने नेपाल फर्किन्।
तर, चीन पुगेपछि मनमायाले भनेअनुसारका कुनै कुरा मेल खाएन। र, सपना रनभुल्लमा परिन्। विवाह गरी गएको श्रीमान न त भनेअनुसारको धनी नै थियो, न उसको व्यवहार नै राम्रो थियो।
चीन पुर्याइसकेपछि सपना विवाह गरेर गएका युवकको यौन शोषणमा मात्र परिनन्। अन्य व्यक्तिहरूसँग पनि जबर्जस्ती यौन सम्पर्क राख्न लगाइयो।
नेपालमा आर्थिक अवस्था कमजोर नै भए पनि दुई छाक आरामले टार्न पाएकी उनलाई चीनमा त्यो पनि नसिव भएन। सपनाको विवाह गराइदिन मनमायाले चिनियाँ नागरिबाट ५ लाख रुपैयाँ लिएको थाहा पाएपछि त उनी छाँगाबाट खसेजस्तै भइन्।
विवाह गरेको भनेकै व्यक्तिले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको सन्देश उनले नेपालमा रहेका आफन्तलाई पुर्याइन्। र, बेइजिङस्थित नेपाली दूतावासको समन्वयमा १ असार ०८० मा उनको उद्धार भयो। नेपाल फर्केलगत्तै सपनाले आफूलाई बेच्ने मनमाया घलेविरुद्ध मानव वेचविखन अनुसन्धान ब्युरोमा जाहेरी दिइन्। उनकै जाहेरीका आधारमा ६ जेठ ०८१ मा ब्युरोको प्रहरी टोलीले मनमायालाई पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार मुद्दा अगाडि बढायो।
०००
विभिन्न प्रलोभनमा पारी नेपाली महिलालाई चिनियाँ नाागरिकसँग विवाह गराई उनीहरूलाई मानसिक तथा शारीरिक शोषण गर्दै वेश्यावृत्तिमा लगाउने घटना पछिल्ला वर्षमा बढ्दो क्रममा छन्। ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार गत आव ०८०-८१ मा प्रलोभनमा पारी चीनमा पुर्याई महिलालाई बिक्री गरिएका दुईवटा मुद्दा दर्ता भएका छन्।
उनका अनुसार प्रलोभनमा पारी चिनियाँ नागरिकसँग विवाह गराई नेपाली महिलाहरू यौनलगायत हिंसामा पर्ने घटना नयाँ होइन। तर, त्यससम्बन्धी मुद्दा दर्ता गराउने क्रम निकै कम छ। विवाहको पासोमा फसी चिनियाँ नागरिकसँग विवाह गरी समस्यामा परेका महिलाहरू आफ्नै नजिकका आफन्तमार्फत एजेन्टको सम्पर्कमा पुगेका हुन्छन्। ‘चीनबाट उद्धार भएर आएपछि एजेन्टसँगै अनुसन्धानको क्रममा महिलाका नजिकका आफन्त पनि फस्न सक्ने भएकाले पीडितले ब्युरोमा आई उजुरी दर्ता गराउन हिचकिचाउँछन्,’ एसपी मिश्र भन्छन्।
चीनको पछिल्लो जनगणनाअनुसार त्यहाँ १ अर्ब ४२ करोड २० लाख जनसंख्या छ। त्यसमा पुरुषको जनसंख्या ७६ करोड ३४ लाख ६१ हजार ३०३ छ। महिलाको संख्या ७० करोड ७० लाख ४६ हजार १०० छ। त्यस आँकडालाई आधार मान्दा चीनमा पुरुषभन्दा महिला ५ करोड ६४ लाख १४ हजार ९०० जना कम छन्।
त्यसमाथि चीनमा विवाह एकदमै महँगो छ। विवाह गर्न पनि केटा पक्षले केटी पक्षलाई धेरै रकम बुझाउनुपर्छ। पहिलो त विवाहका लागि केटी पाउन मुस्किल। दोस्रो- केटी पाए पनि धेरै खर्चिलो। सोही कारण चिनियाँ पुरुषहरू एजेन्टमार्फत अन्य मुलुकका युवतीसँग विवाह गर्न इच्छुक हुने गरेको एसपी मिश्र बताउँछन्। कम खर्चमा विदेशी युवती विवाह गर्न केटा पक्षले एजेन्टलाई रकम दिने गरेको अनुसन्धानमा खुलेको एसपी मिश्र बताउँछन्।
विचौलियाहरूले कुन मुलुकका महिला सजिलै लालचमा फस्छन् भनेर अध्ययन गर्छन्। र, नेपालजस्ता अल्प विकसित मुलुकका महिलाहरूलाई केटा धनी भएकाले सुखसयलको जिन्दगी बिताउन पाइन्छ भनेर प्रलोभनमा पार्छन्। नेपाली महिलाहरू पनि चीन जान पाइन्छ, केटा धनी भए बसी-बसी खान पाइन्छ भनेर कुनै समस्यामा पर्न सक्छु भन्ने कुराको हेक्का नै नगरी लहैलहैमा फस्छन्।
त्यसरी एजेन्टमार्फत चीन पुगेका महिलाहरू केही एजेन्टमार्फत गलत व्यक्तिको कहातमा परेपछि यौन हिंसामा पर्छन्। कतिपयलाई बिहे गरेर लगेको केटाले नै वेश्यावृत्तिमा लगाउँछन्। र, पशुसरह जीवन बिताउन बाध्य हुन्छन्।
‘किन चिनियाँ नागरिक विवाहका लागि केटी खोज्दै नेपाल आइपुग्छन्, त्यहाँ पनि त केटी होलान् भन्दै अनुसन्धान गर्दा चीनमा महिलाभन्दा पुरुषको जनसंख्या धेरै रहेको पाइयो,’ एसपी मिश्र भन्छन्, ‘चीनमा विवाह एकदमै महँगो रहेछ। नेपालमा केटी खोज्न २-४ लाख एजेन्टलाई दिए पुग्ने भएकाले पनि विचौलियामार्फत नेपालसम्म आइपुग्छन् चिनियाँ नागरिक।’ उनका अनुसार त्यसरी प्रलोभनमा परी गएका महिलाहरूलाई चीन पुगेपछि बन्धक बनाइन्छ। र, अनेक प्रकारका हिंसामा पारिन्छ।
एसपी मिश्र भन्छन्, ‘चिनियाँ नागरिकसँग विवाह गरेर १३-१४ वर्षको बच्चासमेत भइसकेका महिलाहरूले पनि चीनमा बस्न सक्दिनँ, उद्धार गरी नेपाल लगिदिनुहोस् भन्दै खबर गरिरहेका छन्।’
उनका अनुसार सबै चिनियाँ नागरिक धनी छैनन्। धनी परिवारलाई अन्य मुलुकबाट केटी खोजेर विवाह गर्न आवश्यक पनि छैन। खासमा, कमजोर आर्थिक अवस्थाको परिवारका युवा विदेशी युवतीसँग बिहे गर्न उद्यत हुन्छन्। ता कि, त्यहाँ हुने विवाह खर्चबाट बच्न सकियोस्।
कतिपय चिनियाँका घर जंगलभित्र हुन्छन्। र, त्यस्ता घरमा जंगली जनावरको प्रकोप अत्यधिक हुन्छ। सोही कारण विवाह गरेर सन्तानका आमासमेत भइसकेका महिलाहरू पनि नेपाल फर्कन चाहिरहेका छन्।
विवाह गराउने एजेन्ट नेपाली र चिनियाँ दुवै छन्। नेपालमा बसिरहेका चिनियाँ नागरिक भाषाको समस्याका कारण नेपाली समाजमा घुलमिल हुन सक्दैन। सोही कारण नेपालीसँगको मिलेमतोमा केटी खोज्छन्। हाल ठमेललाई एजेन्टहरूले सेन्टर बनाइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ। विवाहको नाटक गरी चीन लगेर नेपाली महिलालाई बिक्री गरिएका तीनवटा मुद्दा ब्युरोले चलाइसकेको छ।