ढाका- हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामुहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका छन् ।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारी र सरकारबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेको छ ।
‘बङ्गलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,’उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् ।
पूर्व सेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाएका छन् ।
सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भएतापनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो सङ्ख्यामा जनता पुनः सडकमा फर्किएका छन् ।