कर्णाली- नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।
दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।
विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो
लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीका रुपमा १० दिनअघि शपथ लिनुभएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको हो ।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले आज मात्र उनीहरुको कार्यविभाजन गरिएको हो ।
मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच आजै भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाइएको हो । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायातमन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाउनुभएको सरकारका प्रवक्ता नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले जानकारी दिए । नेपाली कांग्रेसको भागमा परेको एक मन्त्री पठाउन बाँकी छ ।
सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्थामन्त्री गुल्मीका दिनेश पन्थी, स्वास्थ्यमन्त्री पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइमन्त्रीको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले प्राप्त गरेको प्रवक्ता पन्थीले बाताए।
लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेकामा एमालेले मुख्मन्त्रीसहित पाँच, कांग्रेसले पाँच र दुई साना दललाई मन्त्रालय बाँडफाँटको सहमति यसअघि गरिएको थियो ।