भोजपुर- सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।
सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुईवटा सामुदायिक वनमा ४० हजार विरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए। स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा निःशुल्क रुपमा वितरण गर्नसक्ने उनको भनाइ छ ।
दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आयस्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताए ।
सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रमअन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताउनुभयो । विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यहनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उनले जानकारी दिए ।
Advertisement