डुम्रे- तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहर व्यवस्थापन गर्न लागेको हो ।
नकुहिने र पुनः प्रयोगमा ल्याउन सकिने सामग्री व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा रहेकाले त्यसको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालय परिसरमा राखेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उनका अनुसार फोहर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन नहुँदा दमौली बजार क्षेत्रसँगै विभिन्न स्थानबाट साउन १ गतेदेखि उठाउन नसकिएको फोहर सङ्कलन गर्न थालिएको छ । नगरपालिकाले फोहर उठाउन नसकेपछि अधिकांश चोकमा फोहर थुप्रिँदा दुर्गन्धित र कुरुप हुने गरेकाले अहिले उठाएर व्यवस्थापन गरिरहेको नगर प्रमुख न्यौपानेले बताए।
नगरपालिकाले यसअघि व्यास नगरपालिका–३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएकामा सम्झौता अवधि सकिएपछि फोहर व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । नगरपालिकाको भत्काइएको पुरानो सभाहलमा नकुहिने फोहर राखेर वर्गीकरण गरी बिक्री वितरण गर्ने योजना बनाएको व्यासका प्रवक्ता एवं व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।