गण्डकी- पोखरा महानगरपालिका–२१ कृष्ती क्षेत्रका सुन्तलामा कत्ले कीराको प्रकोप देखिएको छ । यहाँको काफलबोटेलगायतका स्थानमा झण्डै एक सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा कत्ले कीराको प्रकोप देखिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
कत्ले कीराको प्रकोप बढ्दै गएको कृषकहरूबाट जानकारी आएपछि प्राविधिकसहितको टोली पुुगेर सुुन्तला बगैँचाको स्थलगत अवलोकन गरिएको उनले बताए। उक्त कीराको प्रकोपबाट सुन्तलालाई बचाउनका लागि कृषकहरूलाई आवश्यक प्राविधिक सल्लाह दिइएको र त्यसअनुसार उनीहरू लागिसकेको उनले जानकारी दिए ।
उनका अनुुसार कत्ले कीराको शरीरको रङ्ग रुखको पात तथा बोक्रसँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न सकिदैन । मसिना, गोला तथा चेप्टा राता खैरा रङ्गका यी कीराहरु मैनाको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागमा चुसी नोक्सान गर्छन् । यो कीरा लागेको ठाउँमा कमिला देखिन्छ ।
यसले विरुवाको पात, डाँठ, मुना र फलबाट रस चुस्दछन जसको फलस्वरुप बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यी कीराले धेरै क्षति पु¥याउँछन् । नरम शरीर भएका कत्लेकीराले आफ्नो शरीरबाट मह जस्तो गुलियो पदार्थ निकाल्छन् । यस्तो गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भइ पातलाई ध्वासो जस्तो पदार्थले ढाक्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी पातमा खाना बन्ने प्रक्रियामा अवरोध पु¥याउछ । ध्वाँसो लागेका फलको गुणस्तर राम्रो हुँदैन। कतिपय कत्ले कीराले कलिला फलमा पनि आक्रमण गर्ने उनले जानकारी दिए ।
Advertisement