लिस्बन- पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल जाने भएको छ ।
राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल जाने भएको हो । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले यही अगस्त २ देखि ११ तारिखसम्म पोर्चुगलमा रहेर विद्युतीय राहदानी ९ई–पासपोर्ट० का लागि दरखास्त सङ्कलन गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।
घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।
टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी हुने बताइएको छ । पोर्चुगलमा रहेका नेपालीको राहदानीसम्बन्धी समस्यालाई समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय र विभागले विशेष प्राथमिकता दिएर घुम्ती टोली पठाउन लागेको राजदूत भट्टराईले बताए।
घुम्ती सेवा शिविरका लागि राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए । शिविरबाट दुई हजार पाँच सय बढीको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन हुने अनुमान गरिएको भट्टराईले बताए ।
टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने जनाएको छ । विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्न र अपोइन्टमेन्ट लिन राजदूत भट्टराईले आग्रहसमेत गरेको छ ।
केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । टोली आउने भएपछि राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका यहाँ रहेका नेपालीलाई राहत हुने भएको छ ।