काठमाडौं- सर्लाही कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका-३ बस्ने २७ वर्षीय तौखिन मिक्रानी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय मकबुल लहरी सफिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तौखिन मिक्रानिको प्रादेशिक अस्पताल मलंगवामा र मकबुल लहरीको सोही अस्पताल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही तिलोत्तमा नगरपालिका-२ योगिकुटीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.१ त ६८४२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको ट्रलीले किच्दा ट्याक्टरमा लेबर काम गर्ने बर्दिया राजापुर नगरपालिका-४ बस्ने १६ वर्षीय संगम थारुको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल प्रालि बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।