काबुल : अफगानिस्तानको तालिवान सरकारले आगामी हप्ता विद्यालय खुल्दा छात्राहरुलाई विद्यालय जान दिने निर्णय गरेको छ।
तालिवानले सत्ता नियन्त्रण गरेदेखि छात्रालाई अध्ययन अध्यापनमा रोक लगाएपछि तिनके शिक्षालाई लिएर अन्यौलता छाएको थियो। अन्तराष्ट्रियस्तरमा तालिवान सरकारको यो निर्णयको सर्वत्र आलोचना भएको थियो। ‘सबै विद्यालयहरु छात्र र छात्रा दुवैकोलागि खुला हुदैंछ,’ अफगान शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायानले रोयर्टससँग बताए।
तथापि छात्राहरुले विद्यालयमा रहँदा केही सर्त पालना गर्नुपर्ने अहमदले बताए। छात्रा र छात्रा सँगै बसेर पढ्न नपाउने र छात्रालाई महिला शिक्षिकाले मात्र पढाउने उनले बताए। महिला शिक्षिकाहरु कम रहेको ग्रामिण क्षेत्रमा भने बुढा शिक्षकहरुलाई पढाउने छुट रहेको प्रवक्ता अहमदले बताए।
बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन्। तालिवान सरकारको यस निर्णयलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले ’महत्वपूर्ण र स्वागतयोग्य’ भनेका छन्।
तालिवान सत्ता आएदेखि बालिका तथा महिलाको शिक्षालाई सुचारु गर्नुपर्ने अन्तराष्ट्रिय समुदायले मुख्य माग रहदै आएको छ। तालिवानको अघिल्लो शासन (सन् १९९६ देखि २००१) अवधिमा उनीहरुले महिला शिक्षा तथा रोजगारीलाई प्रतिबन्ध लगाएका थिए। तिनले पुन सत्ता हातमा लिएपछि बालक तथा पुरुषहरु शिक्षालय फर्किए पनि त्यही सुविधा बालिका तथा युवतीहरुले पाएका थिएनन्।
तालिवानले इस्लामको तिनको आफ्नै ब्याख्याका आधारमा देश संचालन गर्न खोजिरहेको छ। तिनले पटक पटक इस्लामिक कानुनअनुसार महिला अधिकारको सम्मान गर्ने बताउदै आएका छन्।