युक्रेनमाथि रुसको ज्यादतीपूर्ण हमला जारी रहँदा विश्वभरको ध्यान त्यतै केन्द्रित छ। तर, चीनले युक्रेनभन्दा ताइवान मामिलामा बढी चासो दिएको देखिएको छ।
अमेरिकालगायत पश्चिमा मुलुक रुसविरुद्ध चीनको समर्थन जुटाउने प्रयासमा छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले भने अमेरिकी समकक्षी जो बाइडेनसित ताइवान मामिलामा कुनै भुल नगर्न आग्रह गरेका छन्।
शुक्रबार चीन र अमेरिका राष्ट्रपतिहरूबीच भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले ताइवान मुद्दामा कुनै भुल भएमा त्यसको असर दुई मुलुकबीचको सम्बन्धमा पर्ने चेतावनी बाइडेनलाई दिएका हुन्।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सी र बाइडेनबीचको संवादमा ताइवान मामिला जोडतोडसाथ उठाइएको दाबी गरेको हो। चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ। ‘एक चीन नीति’मा तिब्बत मात्र होइन, ताइवान पनि जोडिएको छ। ताइवानले भने आफूलाई अलग देश मान्छ। पश्चिमा मुलुकले ताइवानको सोही दाबीलाई साथ दिँदै आएका छन्।
चीनले जुनसुकै बेला ताइवानलाई आफूमा गाभ्ने बताउँदै आएको छ। चीनका लागि ताइवान मामिला अत्यधिक संवेदनशील मुद्दा हो।
‘अमेरिकाका केही व्यक्ति ताइवानको स्वतन्त्रता समर्थक शक्तिहरूलाई गलत सन्देश प्रवाह गर्न उद्यत छन्,’ राष्ट्रपति सीले बाइडेनसँग भने, ‘यो धेरै खतरनाक कुरा हो। यदि ताइवान मुद्दालाई ठीक ढंगले सम्हालिएन भने त्यसबाट दुई मुलुकको सम्बन्धमाथि ठूलो असर पार्नेछ।’
राष्ट्रपति बाइडेनले भने ताइवान मामिलामा अमेरिकाको नीति परिवर्तन नभएको बताए। उनको भनाइप्रति ताइवानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत धन्यवाद दिएको छ। त्यसको अर्थ हो, अमेरिका अझै पनि ताइवानलाई स्वतन्त्र मुलुक मान्छ। चीनले आफ्ना मित्रराष्ट्रहरूलाई एक चीन नीतिप्रति प्रतिबद्ध बनाउने प्रयास गर्दै आएको छ।