युक्रेनमा प्रतिसेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी दिएका छन्।
रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या ३० लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्यांक छ।
तीमध्ये करिब एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेको अन्तर्राष्ट्रिय आप्रबासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए। ‘फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। गत २० दिनको दौरान युक्रेनमा हरेक दिन ७० हजारभन्दा बढी बालबालिका शरणार्थी भएका छन्,’ उनले भने।
संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका देश (युक्रेन) छोडेर विदेशिने गरेका छन्।’
युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौजना महिला र बालबालिका हुने गरेको राष्ट्रसंघीय एजेन्सीको भनाइ छ। अपरिचित नयाँ ठाउँमा पुगेका युवा, युवती तस्करीको शिकार भइरहेको आशंका छ।
‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडिका, पोल्यान्डदेखि युक्रेनको राजधानी किभसम्म किभबाट आएको जनाउँदै किभ नाम उच्चारण गर्ने हजारौँ मानिस बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ। उनीहरू कम्तिमा एक साताअघि ती सीमाहरूमा पुगेका थिए,’ उनले भने, ‘निस्सन्देह, अधिकांश मानिस अद्भुत मनसाय र ठूलो उदारता भएका मानिस हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ।’