महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ।
होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गर्ने भएको हो।
होलीलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले सबै ट्राफिक एकाइ र इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन्। होलीमा खटिने प्रहरीहरूलाई बुधबार एसएसपी जोशीले ब्रिफिङसमेत गरेका छन्।
‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौति र जोखिमलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी जोशीले भने, ‘बिहानैदेखि डीएसपीको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’
उच्छृंखल र अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी बाइक हुइँक्याउने, हेल्मेट नलगाउने, बाइकमा तीन जनाभन्दा बढी चढ्ने, सवारी साधनबाट महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ।
महाशाखाले होलीलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ शुरु गर्ने भएको छ।