काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट टुक्रिएको अशोक राई नेतृत्वको जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिँदै वर्तमान सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको छ।
नयाँ दल जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
महासचिव राईले निकालेको विज्ञप्ति भनिएको छ, “जसपाको केन्द्रीय अध्यक्ष अशोक राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।”
जसपामा ७ सांसद छन् भने उपेन्द्र यादवको जसपा नेपालमा ५ सांसद मात्र बाँकी छन्। नयाँ दल जसपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि संघीय संसद् सचिवालयमा समेत विधिवत् रूपमा दल दर्ता गर्ने काम सम्पन्न भएको जनाएको छ।